सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: इन्डियन प्रिमियर लिग २०२६ मा चेन्नई सुपर किंग्सले आफ्नो चौथो खेलमा आएर पहिलो जित निकालेको छ। शनिबार चेपौक मैदानमा भएको खेलमा ओपनर सन्जु सामसनको विष्फोटक शतक र जेमी ओभरटनको उत्कृष्ट बलिङको मद्दतले चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रनको बलियो योगफल तयार पारेको थियो। चेन्नईका लागि सन्जु सामसनले ५६ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै ११५ रनको अविजित इनिङ खेले। यो उनको आईपीएल करियरको चौथो र चेन्नईको जर्सीमा पहिलो शतक हो। उनलाई साथ दिँदै आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए भने शिवम दुबे २० रनमा अविजित रहे। दिल्लीका अक्षर पटेलले १ विकेट लिए।
२१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३० बलमा ६० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। ओपनर पथुम निसान्काले ४१ र केएल राहुलले १८ रन जोडे। चेन्नईका जेमी ओभरटनले घातक बलिङ गर्दै ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए। त्यस्तै अंशुल कम्बोजले ३ विकेट झारे।
यो जितसँगै ४ खेलबाट २ अंक जोडेको चेन्नई अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकसहित चौथो स्थानमा छ। अर्को खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ।