सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :विराटनगरमा सुरु भएको पाँचौँ संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हबले विजयी सुरुआत गरेका छन् । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ नेपाल क्रिकेट फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलहरूमा जित निकाल्दै यी दुई टोलीले सुखद यात्रा सुरु गरेका हुन् ।
विराटनगरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा घरेलु टोली विराटनगर हबले आयोजक एनसीएफ ११ लाई ६० रनको फराकिलो अन्तरले स्तब्ध बनायो । वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको ८४ रनको लक्ष्य पछ्याएको आयोजक टोली मात्र २३ रनमा समेटियो । विराटनगरको जितमा ३ विकेट लिएकी सुभेक्छा लिम्बु 'प्लेयर अफ द म्याच' भइन् ।
यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा राजविराज हबले सिरहा हबमाथि ७ विकेटको सानदार जित दर्ता गर्यो । पहिले ब्याटिङ गरेको सिरहालाई मात्र ३८ रनमा रोक्न राजविराजकी कप्तान साक्षी यादवले एक्लैले ६ विकेट लिएकी थिइन् । ३९ रनको सामान्य लक्ष्य राजविराजले ३ विकेट गुमाएर सहजै पूरा गर्यो ।
आउँदो चैत ३० गतेसम्म चल्ने यस प्रतियोगितामा कोशी र मधेस प्रदेशका विभिन्न टोलीहरूबीच प्रतिस्पर्धा भइरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी-२० ढाँचामा सञ्चालित यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।