सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:- नेपालमा टी-२० क्रिकेटको चर्चा चुलिइरहेका बेला लामो फर्म्याटका खेलाडी उत्पादन गर्ने 'नर्सरी' मानिने जय ट्रफी मेन्स इलिट कपले नयाँ र विशाल स्वरूप लिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताको दायरालाई थप फराकिलो बनाउँदै आगामी संस्करणमा ६ टोली समावेश गर्ने औपचारिक घोषणा गरेको छ। यसअघि प्रधानमन्त्री कपका शीर्ष ४ टोलीले मात्र यो अवसर पाउने गरेकोमा, अब क्रिकेटको जग बलियो बनाउन शीर्ष ६ टोलीलाई मैदानमा उतारिने भएको हो। क्यानको यो कदमलाई नेपाली क्रिकेटको 'टेस्ट' राष्ट्र बन्ने सपनाको एउटा बलियो आधारका रूपमा हेरिएको छ। लिग चरणका खेलहरू दुई दिवसीय हुनेछन् भने उपाधि भिडन्त तीन दिवसीय हुनेछ। प्रदेशका क्रिकेट टोलीहरूलाई प्राथमिकता दिँदै क्यानले यस पटक थप समावेशी र प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। अहिलेको क्रिकेटको युगमा खेलाडीको वास्तविक परीक्षा रातो बल र लामो इनिङ्समा हुन्छ। जय ट्रफीले नेपाली खेलाडीहरूलाई क्रिजमा टिकेर खेल्ने, मानसिक रूपमा बलियो हुने र 'क्लासिक' क्रिकेटको अनुभव लिने अवसर प्रदान गर्ने विश्वास लिईएको छ ।
यो विस्तारले नेपालको घरेलु क्रिकेट संरचनालाई थप व्यावसायिक र चुनौतीपूर्ण बनाउने निश्चित छ। अब हेर्न बाँकी छ, यी ६ टोलीमध्ये कसले रातो बलको यो कठीन परीक्षामा बाजी मार्नेछ!