प्रधानमन्त्री कप :आर्मीको जितको लय कायमै ,पुलिसले कर्णालीलाई हरायो

बिहीबार, चैत २६, २०८२
Global

काठमाडौँ: प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा विभागीय टोलीहरूको दबदबा कायम रहेको छ। बिहीबार सम्पन्न खेलहरूमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आ-आफ्नो खेलमा प्रभावशाली जित दर्ता गरेका छन्।

आर्मीको अपराजित किल्ला र विनोदको विष्फोटक शतक
जनकपुरमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले धुलो चटाउँदै आर्मीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ३८.१ ओभरमा १५० रनमै समेटियो। आर्मीका बसिर अहमदले घातक बलिङ गर्दै ५ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले मात्र २०.२ ओभरमा लक्ष्य भेट्टायो। आर्मीको जितका मुख्य नायक कप्तान विनोद भण्डारी बने। उनले मात्र ७५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै सानदार शतकीय इनिङ्स खेले। यो जितसँगै आर्मी ७ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा सुरक्षित छ।

वीरगञ्जमा पुलिसको गर्जन, ललितको ५ विकेट
यसैगरी, वीरगञ्जमा भएको खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ। पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली २१३ रनमै अलआउट भयो। कर्णालीलाई सस्तैमा समेट्न स्पिनर ललित राजवंशीले जादुमयी बलिङ गर्दै ५ विकेट लिए भने करण केसीले ३ विकेट चट्काए।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि दिनेश खरेलले ८२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए। यो जितसँगै पुलिस क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित कर्णाली ९औँ स्थानमा खुम्चिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्