पीएम कप क्रिकेट: कोशी र बागमती तथा मधेश र गण्डकी भिड्दै

बुधबार, चैत २५, २०८२
Global

काठमाडौं :प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुईवटा खेलहरू हुँदैछन्। आजको खेलमा कोशी प्रदेश र बागमती प्रदेश तथा मधेश प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो।

जनकपुरमा हुने खेलमा कोशी प्रदेशले बागमती प्रदेशको सामना गर्नेछ। जारी प्रतियोगितामा कोशी प्रदेशको प्रदर्शन निकै कमजोर देखिएको छ। ६ खेल खेलिसकेको कोशी मात्र १ अंकसहित तालिकाको पुछारमा छ र आज पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। यता बागमती प्रदेश पनि ६ खेलमा ४ अंक जोडेर तालिकाको आठौँ स्थानमा रहेको छ।

त्यस्तै, पर्सामा हुने अर्को खेलमा मधेश प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। ५ खेलबाट ७ अंक बटुलेको मधेश प्रदेश तालिकाको पाँचौँ स्थानमा छ भने ६ खेलबाट ५ अंक जोडेको गण्डकी प्रदेश सातौँ स्थानमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन्। १० टोली सहभागी यस प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) रहेका छन्। सिंगल राउन्ड रोबिन प्रणालीमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अहिलेसम्मको इतिहासमा पीएम कपको उपाधि विभागीय टोलीले मात्र जित्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्