T10 T10

प्रतियोगिता रोकिँदा लगानी डुब्ने खतरा: लिग सुचारु गर्न संकटा क्लबको माग

सोमबार, चैत ९, २०८२
Global

काठमाडौँ:लामो समयदेखि स्थगित रहेको राष्ट्रिय फुटबल प्रतियोगिता तत्काल सुचारु गर्न संकटा फुटबल क्लबले माग गरेको छ। सोमबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को 'अपरिणक्व' निर्णयका कारण क्लबहरूको करोडौँको लगानी जोखिममा परेको बताएको हो।

अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउन निर्देशन दिएपछि एन्फाले गत चैत ५ गतेदेखि जारी पुरुष तथा महिला लिगका खेलहरू अनिश्चितकालका लागि स्थगित गरेको थियो।
पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले संकटाले आफ्ना विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी कागजात एन्फालाई बुझाइसकेको अवस्थामा पनि खेल रोकिनु अन्यायपूर्ण रहेको बताए ।

प्रतियोगिता रोकिँदा खेलाडीको खानपान, आवास र पारिश्रमिकमा भइरहेको खर्चले क्लबलाई ठुलो आर्थिक संकटमा धकेलेको, खेल कहिले सुरु हुन्छ भन्ने निश्चित नहुँदा खेलाडीको मनोबल गिरेको र टिम व्यवस्थापनमा समस्या देखिएको अध्यक्ष तुलाधरले बताए।
संकटा क्लबले श्रम स्वीकृतिको प्राविधिक समस्यालाई तत्काल समाधान गरी विदेशी खेलाडीहरूको हकमा सहज वातावरण बनाउन सरकारसँग माग गरेको छ। साथै, प्रतियोगितालाई थप ढिलाइ नगरी मैदानमा फर्काउन एन्फालाई कडा चेतावनी समेत दिएको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्