सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ। घरेलु मैदानमा भएको फाइनल भिडन्तमा न्युजिल्यान्डलाई ९६ रनको विशाल अन्तरले पाखा लगाउँदै सूर्यकुमार यादवको कप्तानीमा रहेको टोलीले तेस्रो पटक विश्वकपको ट्रफी उचालेर इतिहास रचेको हो।
यस ऐतिहासिक जितसँगै भारतीय टोलीले झण्डै ४० करोड १५ लाख नेपाली रुपैयाँ (३ मिलियन डलर) पुरस्कार राशी प्राप्त गरेको छ। आईसीसीले यस पटक कुल १ अर्ब ८० करोड नेपाली रुपैयाँको कीर्तिमानी पुरस्कार राशी घोषणा गरेको थियो। प्रतियोगितामा सहभागी सबै २० टोलीका लागि पुरस्कारको व्यवस्था गरिएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि समूह चरणबाटै बाहिरिए पनि करिब ३ करोड ३४ लाख नेपाली रुपैयाँ (२.५ लाख डलर) पुरस्कार प्राप्त गरेको छ। नेपालसँगै अफगानिस्तान, अष्ट्रेलिया र नेदरल्याण्ड्स लगायतका टोलीले समान रकम हात पारेका हुन्।
फाइनलमा पराजित उपविजेता न्युजिल्यान्डले करिब २१ करोड ४१ लाख नेपाली रुपैयाँ पाएको छ भने सेमिफाइनलिस्ट टोलीहरू इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले जनही १० करोड ५७ लाख नेपाली रुपैयाँ बुझेका छन्।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका भारतीय ब्याटर सञ्जु सामसन 'प्लेयर अफ द टूर्नामेन्ट' घोषित भए। उनले फाइनल खेलमा ४६ बलमा ८९ रनको विष्फोटक इनिङ खेल्दै भारतको जित सुनिश्चित गरेका थिए। सुपर-८ सम्म पुग्न सफल टोलीहरू जिम्बाब्वे, पाकिस्तान, श्रीलंका र वेस्टइन्डिजले जनही ५ करोड ८ लाख नेपाली रुपैयाँ पुरस्कार पाएका छन्।