सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज आइतबार, ८ मार्चमा एउटा नयाँ इतिहास लेखिँदैछ। भारतीय क्रिकेट टोली टी-२० विश्वकप २०२६ को फाइनलमा न्यूजिल्याण्ड विरुद्ध मैदानमा उत्रिँदै गर्दा विश्व क्रिकेटकै नजर यस महाभिडन्तमा अडिएको छ। यदि आज भारत विजयी भएमा तीन पटक टी-२० विश्वकपको उपाधि जित्ने र लगातार दुई पटक ट्रफी कब्जा गर्ने विश्वकै पहिलो टोली बनेर कीर्तिमान रच्नेछ।
भारतका लागि टी-२० विश्वकपको फाइनल यात्रा उतारचढावपूर्ण र गौरवशाली रहेको छ। सन् २००७ मा महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले पहिलो पटक यो उपाधि चुमेको थियो। जोहानेसबर्गमा भएको उक्त ऐतिहासिक फाइनलमा गौतम गम्भीरको ७५ रनको मद्दतले भारतले १५७ रन बनाएको थियो भने आरपी सिंह र इरफान पठानको घातक बलिङले पाकिस्तानलाई ५ रनले रोक्दै भारत विश्वविजेता बनेको थियो।
त्यसपछिको यात्रामा सन् २०१४ को फाइनल भारतका लागि केही निराशाजनक रह्यो। ढाकामा भएको उक्त खेलमा श्रीलंकाको कसिलो बलिङसामु विराट कोहलीले ७७ रनको उत्कृष्ट इनिङ खेले पनि भारतले मात्र १३० रन जोड्न सक्यो र श्रीलंकाले पहिलो पटक उपाधि जित्दै भारतलाई उपविजेतामा सीमित गरिदियो।
यद्यपि, सन् २०२४ मा रोहित शर्माको नेतृत्वमा भारतले फेरि आफ्नो पुरानो साख फर्कायो। बारबाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत दोस्रो पटक च्याम्पियन बन्यो। विराट कोहलीको ७६ रन र अन्तिम ओभरहरूमा जसप्रित बुमराह, अर्शदीप सिंह र हार्दिक पाण्ड्याको सन्तुलित बलिङले भारतलाई १६९ रनमा प्रोटियाज टोलीलाई रोक्न सफल बनायो।
आजको फाइनल खेल केवल एक उपाधि भिडन्त मात्र नभई भारतका लागि आफ्नो वर्चस्व प्रमाणित गर्ने स्वर्णिम अवसर पनि हो। १ लाखभन्दा बढी दर्शकको समर्थनमा घरेलु मैदानमा उत्रिएको भारतीय टोली आज न्यूजिल्याण्डलाई स्तब्ध पार्दै तेस्रो पटक स्वर्ण इतिहास कोर्ने दाउमा छ।