सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
ललितपुर:तलकमोहन श्रेष्ठ स्मृति महालक्ष्मी नगरपालिका अन्तर विद्यालय स्तरीय चेस प्रतियोगिताको पहिलो दिन भ्याली पब्लिक स्कुलका खेलाडीहरु अग्रस्थानमा रहन सफल भएका छन्। ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न पाँच चरणका खेल पश्चात भ्याली पब्लिक स्कुलका खेलाडी द्वय सुविज्ञ दाहाल र प्रतीक ढुंगेलले आफ्ना सबै खेल जितेर शीर्षस्थान ओगटेका छन्। भ्याली पब्लिक स्कुलका सुविज्ञ दाहाल र प्रतीक ढुंगेल समान पाँच अंक जोड्दै छैठौं चरणमा एक आपसँग प्रतिस्पर्धा गरी उपाधि दावेदार प्रस्तुत गर्ने भएका छन्। महालक्ष्मी चेस एकेडेमीले आयोजना गरिरहेको दुई दिने अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा आयोजक एकेडेमीका आरवलाल श्रेष्ठ, जेनिश घिसिङ र सौगत घिमिरे समान ४.५ अंक बनाएर संयुक्त दोस्रो स्थानमा कब्जा जमाएका छन्। स्पर्धामा अनन्त इङ्गलिस स्कूलका साहिल बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दीप श्रेष्ठ, महालक्ष्मी एकेडेमीका सागर रिजाल, सन्देश कुमार चौधरी, पव प्रकृति स्कूलका अंकित बराल समान ४ अंक जोडेर संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्। भ्याली पब्लिक स्कूलका ईशानराज श्रेष्ठ, ईश्रानराज श्रेष्ठ, वेष्टविङ्ग स्कूलका प्रसन्न महर्जन, श्रृंगेरि स्कूलका ईशा घिमिरे, फ्युचर स्टार्स एकेडेमीका ऋदम श्रेष्ठ, जिनियस आइबि स्कूलका अवियान राई, श्री विश्वामित्र गणेश सेकेन्डरी स्कुलका पुरुषोत्तम महर्जन, बालकुञ्ज इङ्लिस स्कुलका इन्शु ओलिले समान ४ अंक बनाउदै पछ्याइरहेका छन्। विद्यालय बुद्धिचाल प्रतियोगितामा जम्मा ११० विद्यार्थी खेलाडीले कूल ३३ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रका लागि १५ मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय नियन्त्रण प्रणाली अन्तर्गत प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका संयोजक अशोकमोहन श्रेष्ठले दिएको जानकारी अनुसार प्रथमले नगद पुरस्कार रु. ६ हजार, द्वितीयले रु. ४ हजार, तृतीयले रु. ३ हजार, चौथोले रु. २ हजार पाँचौँदेखि दशौँ स्थानसम्म क्रमशः जनही रु. १ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यसैगरी छात्रा तर्फ प्रथमले रु. ४ हजार, द्वितीयले रु. २ हजार, तृतीय देखि पाँचौँ क्रमशः जनही रु. १ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन्। छात्रछात्रा उमेर समूह युवा तर्फ ८, १०, १२ वर्षका विद्यार्थीले नगद पुरस्कार जनही रु. १ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।