T10 T10

दमकका मिसन दाहालले जिते रापिड चेस उपाधि

सोमबार, माघ २६, २०८२
Global

ललितपुर:दमकका मिसन दाहालले रापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।

स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित दुईदिने प्रतियोगितामा १८९७ रेटेड दाहालले नौ चरणबाट ८ दशमलव ५ अंक जोड्दै उपाधि हात पारे। उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे।

साँखुका सन्देश श्रेष्ठ ८ अंकसहित दोस्रो बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्दा विराटनगरका ज्वाला इम्बुङ ७ दशमलव ५ अंकसहित तेस्रो हुँदै १० हजार रुपैयाँ जित्न सफल भए।

चौथो स्थानमा ललितपुर लुभुका राजकुमार लामा र पाँचौं स्थानमा स्याङ्जाका प्रसान्त गुरुङ रहे। छैठौंदेखि दशौं स्थानसम्मका खेलाडीले समान ७ अंक जोड्दै जनही ६ हजार रुपैयाँ पुरस्कार पाए।

महिलातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, काठमाडौंकी राधिका पौडेल द्वितीय र खोटाङकी कुसुम घिसिङ तृतीय घोषित भए।

प्रतियोगितामा विभिन्न उमेर र रेटिङ समूहमा समेत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्