सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आयरल्यान्डका कप्तान पल स्टर्लिङले क्रिकेट इतिहासमा नयाँ कीर्तिमान बनाएका छन्। दुबईमा युएईविरुद्धको खेलमा उनले आफ्नो १६०औँ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेसँगै सबैभन्दा धेरै टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष क्रिकेटर बनेका छन्।
यस कीर्तिमानसँगै स्टर्लिङले भारतका दिग्गज खेलाडी रोहित शर्मालाई पछि पारेका छन्। रोहित शर्माले १५९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
पल स्टर्लिङले सन् २००९ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसयता उनी आयरल्यान्ड टोलीका सबैभन्दा भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिँदै आएका छन्। ओपनरका रूपमा खेल्ने स्टर्लिङ आक्रामक ब्याटिङका लागि परिचित छन्। पावरप्लेमा छिटो रन जोड्नु उनको मुख्य बलियो पक्ष मानिन्छ।
३५ वर्षीय स्टर्लिङ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने शीर्ष पाँच खेलाडीको सूचीमा पनि समावेश भएका छन्। उनले हालसम्म ३ हजार ८ सय ७४ रन बनाएका छन्। उनको नाममा एक शतक र २४ अर्धशतक छन्।
स्टर्लिङले विभिन्न फ्रेन्चाइज टी–२० लिगहरूमा पनि आफ्नो क्षमता देखाइसकेका छन्। उनले पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, आईएलटी–२०, एसए–२० र द हन्ड्रेड लिगमा खेलिसकेका छन्। चोटका कारण बलिङ कम गरे पनि ब्याटिङमा उनको प्रभाव अझै स्पष्ट देखिन्छ।
उक्त कीर्तिमानी खेलमा आयरल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। सुरुवातमा टोली दबाबमा परे पनि लोरकन टकर र कर्टिस क्याम्फरले पारी सम्हाले। अन्त्यतिर जर्ज डकरल र बेन्जामिन कालिट्जले छिटो रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।