श्रीलंकालाई हराउँदै इंग्ल्याण्डले जित्यो एक एकदिवसीय सिरिज

बुधबार, माघ १४, २०८२

कोलम्बो :जो रूट र कप्तान ह्यारी ब्रूकको शतकीय पारीको मद्दतमा इंग्ल्यान्डले श्रीलंकालाई तेस्रो वनडे खेलमा ५३ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको छ। खेल कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ३ विकेट गुमाएर ३५७ रन बनायो। कप्तान ह्यारी ब्रूकले ६६ बलमा नाबाद १३६ रन बनाए भने जो रूटले १०८ बलमा नाबाद १११ रन बनाए। चौथो विकेटका लागि यी दुईले १९१ रनको महत्वपूर्ण साझेदारी गरे।

३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.४ ओभरमा ३०४ रनमा अलआउट भयो। पवन रथनायकेले पहिलो वनडे शतक बनाउँदै १२१ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। ओपनर पथुम निसांकाले ५० रन बनाए।

श्रीलंका घरेलु मैदानमा २०२१ पछि पहिलो पटक वनडे सिरिज हारेको हो। यसअघि उसले लगातार १२ घरेलु वनडे सिरिजमा हार बेहोरेको थिएन।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:३७
प्रतिक्रिया दिनुहोस्