विश्वकपको तयारी सन्तोषजनक छ :कप्तान पौडेल

बुधबार, माघ १४, २०८२

काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको छोटो भिडियो संवादमा उनले टोली सकारात्मक ऊर्जा र आत्मविश्वासका साथ अगाडि बढिरहेको बताए।

कप्तान पौडेलका अनुसार टोलीले अझै केही अभ्यास खेल खेल्ने तयारी गरेको छ र विश्वकप खेल्न पाउँदा सबै खेलाडी निकै उत्साहित छन्। नयाँ र अनुभवी खेलाडीको संयोजनले सन्तुलित टिम बनेको उल्लेख गर्दै उनले केही खेलाडीले पहिलो पटक विश्वकप खेल्न लागेको र सोमपाल कामीले तेस्रो विश्वकप खेल्न लागेको कुरालाई खुशीको विषय भएको बताए।

सन् २०२६ को विश्वकपमा पुग्न नेपाली टोलीमाथि धेरैको अपेक्षा रहेको र त्यसले आफूहरूलाई केही दबाब पनि दिएको उनको भनाइ छ। तर त्यस दबाबलाई सकारात्मक रूपमा लिएर राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको उनले बताए।

कप्तान पौडेलले मैदानमा टोलीले शतप्रतिशत मेहनत गर्ने र आफ्नो खेलमार्फत नेपाल र नेपालीलाई गर्व गर्ने अवसर दिन चाहेको स्पष्ट पारे।

नेपाली जर्सी लगाउँदा आफू भावुक हुने अनुभव सुनाउँदै उनले सन् २०१४ को विश्वकप घरमै बसेर हेरेको स्मृतिसमेत साझा गरे। अहिले भने त्यो सपना आफ्नै मेहनतले पूरा भएको भन्दै उनले यो क्षणलाई विशेष बताएका छन्।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्