T10 T10

टी-२० विश्वकप २०२६: ठूलो फेरबदलको सम्भावना!

पाकिस्तान बाहिरिए बंगलादेशले खेल्ने?
मंगलबार, माघ १३, २०८२
Global

काठमाडौं:- टी-२० विश्वकप २०२६ सुरु हुनुअघि नै विवाद र अनिश्चितताको भुमरीमा फसेको छ। यसैबीच एउटा ठूलो ट्वीस्ट बाहिर आएको छ ।

यदि पाकिस्तानले प्रतियोगिताबाट हट्ने निर्णय गरेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बंगलादेशलाई पुनः प्रवेश गराउने तयारी गरेको छ। पाकिस्तानको स्थानमा बंगलादेशलाई ग्रुप 'ए' मा समावेश गरिनेछ र उसले आफ्ना सबै खेलहरू श्रीलंकामा खेल्न पाउनेछ।

पाकिस्तान क्रिकेट बोर्ड पिसीबीले अहिलेसम्म विश्वकप खेल्ने वा नखेल्ने भन्नेबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। पीसीबी अध्यक्ष मोहसिन नकवीले प्रधानमन्त्री शहबाज शरीफसँगको भेटपछि यसबारे अन्तिम निर्णय आगामी शुक्रबार वा सोमबारसम्म आउने बताएका छन्। यही अनिश्चिततालाई मध्यनजर गर्दै आइसीसीले ब्याकअप प्लान तयार गरेको हो, ताकि प्रतियोगिताको तालिकामा कुनै असर नपरोस्।

यसअघि भारतमा खेल्न अस्वीकार गरेपछि बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्दै उसको स्थानमा स्कटल्याण्डलाई समावेश गरिएको थियो। अब पाकिस्तान बाहिरिएमा आइसीसीले बंगलादेशलाई फेरि मौका दिन सक्छ। विशेष कुरा के छ भने, यो स्थितिमा बंगलादेशले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ, जुन उसको पुरानै माग पनि थियो। यसो गर्दा आइसीसीले आफू कसैको दबाबमा नझुकेको र परिस्थितिको ठोस समाधान निकालेको सन्देश दिन चाहन्छ।


सूत्रहरूका अनुसार पाकिस्तानसामु धेरै विकल्पहरू राखिएका छन्। पूरै प्रतियोगिता नखेल्नेदेखि लिएर फेब्रुअरी १५ मा भारत विरुद्ध हुने हाईभोल्टेज खेल मात्र बहिष्कार गर्ने सम्मका विकल्पमा छलफल भइरहेको छ। यदि पाकिस्तानले भारतसँग नखेल्ने निर्णय गरेमा त्यो आयोजक र दर्शकका लागि ठूलो झट्का हुनेछ, किनकि भारत पाकिस्तान खेल नै सबैभन्दा बढी दर्शक र आम्दानी हुने खेल मानिन्छ।

फेब्रुअरी ७ः पाकिस्तान विरुद्ध नेदरल्याण्ड्स
फेब्रुअरी १०ः पाकिस्तान विरुद्ध अमेरिका
फेब्रुअरी १५ः पाकिस्तान विरुद्ध भारत
फेब्रुअरी १८ः पाकिस्तान विरुद्ध नामिबिया

अहिले सबैको नजर पाकिस्तानको अन्तिम निर्णयमा टिकेको छ। यदि पाकिस्तान पछि हट्यो भने बंगलादेशको पुनरागमन पक्का मानिनेछ। स्पष्ट छ कि सन् २०२६ को टी-२० विश्वकप मैदानमा मात्र होइन, क्रिकेट बोर्डका कोठाहरूमा पनि निकै रोमाञ्चक बन्ने देखिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्