T10 T10

इयान विशपको नजरमा नेपाली क्रिकेट: "मैदानमा बिजुलीभन्दा तीव्र, रोहित र दीपेन्द्र विश्वकै लागि खतरा"

मंगलबार, माघ १३, २०८२
Global

काठमाडौं:- टी-२० विश्वकपको माहोल तातिरहेको बेला अन्तर्राष्ट्रिय क्रिकेट जगतका दिग्गज व्यक्तित्व इयान विशपले नेपाली टोलीबारे गरेको टिप्पणीले विश्व क्रिकेटमा नयाँ तरंग पैदा गरेको छ।

वेस्ट इन्डिजका पूर्व तीव्र गतिका बलर तथा प्रख्यात कमेन्टेटर विशपले नेपाली खेलाडीहरूको क्षमता, विशेष गरी उनीहरूको अविश्वसनीय फिल्डिङलाई लिएर खुलेर प्रशंसा गरेका छन्। 

विशपका अनुसार नेपाली टोलीको फिल्डिङ कुनै पनि विश्वस्तरीय टोलीको तुलनामा कम छैन। उनले नेपाल र वेस्ट इन्डिजबीचको सिरिजलाई सम्झँदै भने, "मैले मैदानमा नेपाली खेलाडीको जस्तो विद्युतीय गति अरू कुनै टोलीमा देखेको छैन। उनीहरू हावामा उडेको बल समात्न २० यार्ड दौडिएर १० यार्डको डाइभ हान्छन्। यो साँच्चै स्तब्ध पार्ने खालको छ।"

नेपाली टोलीका कप्तान रोहित पौडेललाई विशपले एक प्रतिभावान र समझदार नेतृत्वकर्ताको रूपमा चित्रण गरेका छन्। २५ वर्षकै उमेरमा रोहितले टोलीलाई जुन परिपक्वताका साथ अगाडि बढाएका छन्, त्यो लोभलाग्दो छ।
उनी केवल कप्तान मात्र नभई एक कुशल ब्याटर पनि हुन्। यदि रोहितले आफ्नो लय समाते भने विश्वकपमा उनी विपक्षीका लागि सबैभन्दा ठूलो चुनौती बन्ने विशपको विश्लेषण छ।

विशपले नेपाली टोलीका मुख्य खम्बाहरूको विशेष चर्चा गरेका छन्ः
दीपेन्द्र सिंह ऐरीः उनलाई विशपले टोलीको भर्सटायल स्टार मानेका छन्। ब्याटिङ र अफ(स्पिनमा जस्तै उनको फिल्डिङ ुविश्वस्तरीयु रहेको र उनले असम्भव क्याचहरूलाई सम्भव बनाउने क्षमता राख्ने बताए।

गुल्शन झाः युवा अलराउन्डर गुल्शनलाई विशपले फ्युचर स्टारको संज्ञा दिएका छन्। बायाँहाते ब्याटिङमार्फत पावर हिटिङ गर्ने र राम्रो बलिङ गर्ने क्षमता भएकाले गुल्शनले विश्वभरका फ्रेन्चाइज लिगमा स्थान बनाउन सक्ने उनको अनुमान छ।

कुशल भुर्तेलः आक्रामक ओपनिङका लागि कुशलको तारिफ गर्दै उनले टोलीलाई विस्फोटक सुरुवात दिन कुशलको भूमिका महत्त्वपूर्ण हुने बताए।

नेपाली बलिङमा अनुशासन रहेको तर ब्याटिङमा भने केही सुधारको आवश्यकता रहेको विशपको बुझाइ छ। दक्षिण अफ्रिका र बंगलादेश जस्ता टिमलाई कडा टक्कर दिएको इतिहासले नेपाल अब अन्डरडग मात्र नरहेको पुष्टि गर्छ। यदि ब्याटिङ, बलिङ र फिल्डिङको तालमेल मिलेमा नेपाल यसपटकको विश्वकपमा सबैभन्दा खतरनाक टोलीको रूपमा उदाउने निश्चित छ।
इयान विशपको यो विश्लेषणले के स्पष्ट पार्छ भने, नेपाली क्रिकेट अब केवल सहभागी हुनका लागि मात्र होइन, विश्व क्रिकेटका हस्तीहरूलाई हराउनका लागि मैदानमा उत्रँदै छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्