सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आगामी टी-२० विश्वकप सुरु हुन केही समय मात्र बाँकी छँदा विश्व क्रिकेटमा नयाँ हलचल पैदा भएको छ। बंगलादेशलाई विश्वकपबाट बाहिर राख्ने आईसीसीको सम्भावित निर्णयको विरोधमा उत्रिएको पाकिस्तान क्रिकेट बोर्ड पीसिबीले अब आफैँ प्रतियोगिताबाट बाहिरिने धम्कीपूर्ण सङ्केत दिएको छ। तर, विज्ञहरूका अनुसार यो निर्णय पाकिस्तानका लागि आत्मघाती सावित हुन सक्छ। यदि पाकिस्तानले विश्वकप बहिष्कार गरेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले उसलाई कडा सजाय दिने तयारी गरेको छ। पाकिस्तानमाथि अन्य देशहरूसँग खेल्ने तालिका रद्द हुने, अविदेशी खेलाडीहरूलाई पाकिस्तानको लिग खेल्न अनुमति (एनओसी) नदिइने तथा क्षेत्रीय प्रतियोगिताहरूबाट पनि पाकिस्तानलाई निषेध गरिने जस्ता प्रतिबन्ध आइसीसीले लगाउने सम्भावना छ । पाकिस्तान क्रिकेट बोर्डको आर्थिक मेरुदण्ड नै आईसीसीबाट प्राप्त हुने वार्षिक रकम हो। सन् २०२४-२७ को चक्रमा पाकिस्तानलाई आईसीसीले ३४.५१ मिलियन डलर अर्थात् करिब साढे ४ अर्ब नेपाली रुपैयाँ दिने तय भएको छ। खेल पत्रकार नीरू भाटियाका अनुसार, आर्थिक संकटबाट गुज्रिरहेको पीसीबीका लागि आईसीसीको रकम रोक्का हुनु भनेको बोर्ड टाट पल्टिनु सरह हो। पाकिस्तान नहुँदा आईसीसीलाई पनि ठूलो झट्का लाग्नेछ। भारत र पाकिस्तानबीचको खेलबाट मात्रै पछिल्लो २० वर्षमा करिब १.३ अर्ब डलर राजस्व संकलन भएको तथ्यांक छ। ब्रोडकास्टर र स्पोन्सरहरूले यो खेलका लागि मोटो रकम खर्चने भएकाले पाकिस्तानको अनुपस्थितिले विज्ञापनको बजार खस्किने निश्चित छ। पाकिस्तानका दिग्गज क्रिकेटर वसीम अक्रमले यस कदमको कडा आलोचना गरेका छन्। बंगलादेशका लागि पाकिस्तानले किन आफ्नो विश्वकप दाउमा लगाउने? हामीले हाम्रो खेलमा ध्यान दिनुपर्छ।, उनले भनेका छन् । पीसीबी अध्यक्ष मोहसिन नकवीले यो निर्णय पूर्ण रूपमा पाकिस्तान सरकारको हातमा रहेको बताएका छन्। प्रधानमन्त्री शहबाज शरीफसँगको भेटपछि मात्रै पाकिस्तानले विश्वकपका लागि विमान समात्ने वा घरमै बस्ने भन्ने टुङ्गो लाग्नेछ। यदि पाकिस्तानले भावनात्मक निर्णय गरेर विश्वकप छोड्यो भने, उसले केवल एउटा प्रतियोगिता मात्र गुमाउने छैन, बरु विश्व क्रिकेटको नक्साबाटै एक्लिने र आर्थिक रूपमा ध्वस्त हुने जोखिम मोल्नेछ।