T10 T10

मैदान फेरियो, लक्ष्य उहीः क्रिकेटको कप्तानीपछि अब देश सम्हाल्ने दौडमा ज्ञानेन्द्र मल्ल

आइतबार, माघ ११, २०८२
Global

काठमाडौं:- नेपाली क्रिकेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो जीवनको एउटा महत्वपूर्ण इनिङ समाप्त गरेर नयाँ पिचमा पाइला टेकेका छन्।

हिजोसम्म ब्याट समातेर मैदानमा विपक्षी बलरको सामना गर्ने मल्ल, अब राजनीतिको मैदानमा देशको भविष्य कोर्न तम्सिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका उनले सामाजिक सञ्जालमार्फत आफ्नो यो यात्रा व्यक्तिगत पदका लागि नभई समृद्ध नेपालको साझा सपनाका लागि भएको प्रष्ट पारेका छन्।
मल्लका अनुसार मानिसको पृष्ठभूमि फरक हुन सक्छ, तर गन्तव्य एउटै हुनुपर्छ। उनले भनेका छन्, "हामी जुन क्षेत्रबाट आए पनि हाम्रो अन्तिम लक्ष्य सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल नै हो।"
खेलकुदमा जस्तै राजनीतिमा पनि उनले आम नागरिकको साथ र रचनात्मक सुझावको अपेक्षा राखेका छन्।
राजनीतिमा लाग्नुअघि उनले आफू आवद्ध रहेको नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षक पदबाट नैतिकताको आधारमा राजीनामा दिएका छन्। पद र शक्ति भन्दा पनि निष्ठा ठूलो हुन्छ भन्ने सन्देश दिँदै उनले खेल जीवन आफ्नो अभिन्न हिस्सा रहिरहने तर अब देश सेवाको स्वरूप बदलिएको बताएका छन्। मल्लले आफ्नो यो कदमलाई व्यक्तिगत लाभसँग भन्दा पनि आगामी पुस्ताको भविष्यसँग जोडेका छन्।

उनका अनुसार यो यात्रा सुन्दर र समृद्ध नेपाल देख्ने युवाहरूको लागि हो। परिवर्तनका लागि भएका त्याग र बलिदानलाई सार्थक बनाउने यो एउटा अवसर हो। युवाहरूको सपना र सम्भावनालाई सही दिशा दिनु नै उनको मुख्य एजेण्डा हो।

खेलाडीहरूलाई राजनीतिको मूलधारमा अवसर दिने परिपाटी कम भएको उल्लेख गर्दै उनले रास्वपाले देखाएको यो विश्वासप्रति आभार व्यक्त गरेका छन्। उनले यसलाई आफ्नो मात्र नभएर सम्पूर्ण खेलाडी र युवाहरूको प्रतिनिधित्वको रूपमा लिएका छन्।

हिजो राष्ट्रिय झण्डा छातीमा टाँसेर मैदान उत्रने ज्ञानेन्द्र, आज त्यही झण्डाको सान बचाउन राजनीतिको मैदानमा छन्। के उनले क्रिकेटमा जस्तै राजनीतिमा पनि ओपनिङ ब्याट्सम्यानको रूपमा देशलाई दरिलो सुरुवात दिलाउन सक्लान्? यो त समयले नै बताउनेछ।

WhatsApp-Image-2026-01-25-at-12.03.06-PM-1769328124.jpeg
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्