T10 T10

तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’लाई ७ विकेटले हरायो

शनिबार, माघ १०, २०८२
Global

काठमाण्डौ :आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा बलियो पुनरागमन गरेको छ। आज कोल्ट्स मैदानमा भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हराउँदै आत्मविश्वास बढाएको हो।

श्रीलङ्का ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमै ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपाली ब्याटिङमा कुशल भुर्तेलले आक्रामक प्रदर्शन गर्दै ४९ रन जोडे। बलिङतर्फ श्रीलङ्का ‘ए’ का सोनल दिनुषाले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्का ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। चमिका करुणारत्नेले सर्वाधिक ३८ रन बनाए। नेपालका शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारेर विपक्षीलाई कम स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले।

यसअघि खेलेका दुई अभ्यास खेलमा पराजय भोगेको नेपालका लागि यो जित मनोबल बढाउने साबित भएको छ। श्रीलङ्काको अभ्यास सिरिजपछि नेपाली टोली अब भारत प्रस्थान गर्नेछ, जहाँ मुम्बईको एमसीए प्रेसिडेन्ट–इलाभेनसँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने कार्यक्रम छ।

आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ। नेपालले फेब्रुअरी ८ मा इङ्ग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्