सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२६ को पुरुष टी–२० विश्वकपबाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई सहभागी गराउने निर्णय गरेको छ। भारतमा आयोजना हुने विश्वकपका लागि टोली पठाउन बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले अस्वीकार गरेपछि करिब तीन हप्ता लामो छलफलपछि आईसीसीले यस्तो कडा निर्णय लिएको हो।
फेब्रुअरी ७ बाट सुरु हुने प्रतियोगिताका लागि बंगलादेश सरकारले आफ्ना खेलाडीलाई भारत जान अनुमति नदिएपछि विवाद चुलिएको थियो। बंगलादेशले सुरक्षा कारण देखाउँदै आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो। तर, आईसीसीले भारतमा कुनै पनि “विश्वसनीय सुरक्षा जोखिम” नरहेको निष्कर्ष निकाल्दै तालिका परिवर्तन गर्न अस्वीकार गरेको थियो।
यो विवादको जरो जनवरी ३ मा देखिएको थियो, जब भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ बाट फुकुवा गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएको थियो। यही घटनालाई आधार बनाएर बंगलादेशले सुरक्षा चिन्ता व्यक्त गरे पनि आईसीसीले उक्त दाबीलाई “असान्दर्भिक” ठहर गर्दै खारेज गरिदिएको हो।
बंगलादेश समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, इङ्गल्याण्ड र इटालीसँगै रहेको थियो। अब बंगलादेशको स्थान स्कटल्याण्डले लिनेछ। यससँगै नेपालले विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।