सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ, तर अहिले यो अनिश्चितता मैदानभित्र मात्र सीमित छैन।
सुरक्षा र राजनीतिको पिचमा बंगलादेश र भारतबीच सुरु भएको विवादले आगामी टी-२० विश्वकप नै संकटमा परेको छ। बंगलादेश क्रिकेट बोर्ड बीसीबीले स्पष्ट शब्दमा भनेको छ— आफ्ना खेलाडीको सुरक्षामा सम्झौता गरेर टोली भारत जाने छैन। यो विवादको बिउ तब रोपियो जब आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि छनोट भएका मुस्ताफिजुर रहमानलाई सुरक्षाको कारण देखाउँदै रिलिज गरियो। यसलाई बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय अपमानको रूपमा लिएको छ। खेल सल्लाहकार आसिफ नजरुलले भनेका छन्,'' हामीलाई आईसीसीबाट न्याय चाहिएको छ। यदि हाम्रा खेलहरू श्रीलंका सारिँदैन भने हामी विश्वकप खेल्दैनौँ''।
यो विवादमा पाकिस्तानको इन्ट्रीले माहोल अझ तताएको छ। पाकिस्तानका पूर्व कप्तान राशिद लतिफले बंगलादेशको पक्षमा उभिन आफ्नो देशलाई आह्वान गरेका छन्। उनले भनेका छन्ः यदि पाकिस्तान र भारत छैनन् भने विश्वकपको ५० प्रतिशत हिस्सा नै रहँदैन। पाकिस्तानले बंगलादेशलाई साथ दिनुपर्छ। पाकिस्तानका वरिष्ठ खेल पत्रकार शाहिद हाशमीले समेत आईसीसीको दोहोरो मापदण्डमाथि प्रश्न उठाएका छन्। भारतले सुरक्षाको कुरा गर्दा आईसीसीले तुरुन्तै मान्ने तर बंगलादेश जस्तो देशको चिन्तालाई बेवास्ता गरिएको उनको आरोप छ।
यद्यपि, सबै पाकिस्तानी र बंगलादेशी खेलाडीहरू बहिष्कारको पक्षमा छैनन्। बंगलादेशका पूर्व कप्तान मोहम्मद अशरफुलले यसलाई दुखद भनेका छन्। उनले आगामी फेब्रुअरीको चुनावपछि बन्ने नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्ने र क्रिकेट सुचारु हुने आशा राखेका छन्। त्यस्तै, एसियाली क्रिकेट काउन्सिलका पूर्व सीईओ सैयद असरफुल हकले कडा अडान लिनुको सट्टा कूटनीतिको बाटो रोज्नुपर्ने सुझाव दिएका छन्। उनले अटल बिहारी वाजपेयीको समय सम्झँदै भने— जीत वा हार ठूलो कुरा होइन, छिमेकीको मन जित्नु ठूलो कुरा हो। बंगलादेशले यो मुद्दालाई आईसीसीको ुस्वतन्त्र विवाद समाधान समितिु मा लैजाने तयारी गरेको छ। यदि बंगलादेश र पाकिस्तान दुवैले विश्वकपमा सहभागी नहुने निर्णय गरे भने, यो विश्व क्रिकेट इतिहासकै सबैभन्दा ठूलो संकट हुनेछ। १२ फेब्रुअरीको बंगलादेशी चुनाव र आईसीसीको अन्तिम फैसलाले नै तय गर्नेछ कि यो विश्वकप मैदानमा खेलिनेछ या केवल राजनीतिको एउटा अध्याय बनेर रहनेछ।