सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौ :आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोली आज निर्णायक खेलमा उत्रँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो १ बजे जिम्बावेसँग हुने यो खेल नेपालका लागि अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ।
लगातार दुई हारपछि नेपाल समूह ‘बी’ मा अङ्कविहिन छ र चौथो स्थानमा सीमित रहेको छ। थाइल्यान्डसँग ८ विकेट र नेदरल्यान्ड्ससँग २ रनको साँघुरो हारले टोलीलाई दबाबमा पुर्याएको छ। अब अघिल्लो चरणमा पुग्ने आशा कायम राख्न बाँकी दुवै खेल जित्नु अनिवार्य बनेको छ।
रोचक कुरा के छ भने जिम्बावे पनि अहिलेसम्म तीन खेल खेल्दा जीतविहिन छ र अङ्क तालिकाको पुछारमा अड्किएको छ। त्यसैले आजको भिडन्त दुवै टोलीका लागि पहिलो जितको खोजी हो।
आजै बिहान ९ बजे हुने थाइल्यान्ड–स्कटल्यान्ड खेलले नेपालको सम्भावनामा ठूलो प्रभाव पार्नेछ। – यदि थाइल्यान्डले स्कटल्यान्डलाई हरायो भने थाइल्यान्ड अगाडि बढ्नेछ र नेपालले जिम्बावे तथा स्कटल्यान्डलाई हराए पुग्नेछ। – तर स्कटल्यान्डले थाइल्यान्डलाई पराजित गरेमा जिम्बावे नेपालसँग खेल्नुअघि नै बाहिरिनेछ। यस्तो अवस्थामा नेपालले जिम्बावे र स्कटल्यान्ड दुवैलाई हराउनुका साथै नेटरनरेटमा पनि स्कटल्यान्डलाई पछि पार्नुपर्ने कठिन समीकरण हुनेछ।
१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ। समूह चरणपछि दुवै समूहका शीर्ष तीन टोली ‘सुपर–सिक्स’ मा पुग्नेछन्। त्यहाँबाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपको टिकट काट्नेछन्।
आजको खेल केवल एउटा जीत मात्र होइन, नेपाली महिला क्रिकेटको विश्वकप सपना जोगाउने लडाइँ हो।