सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :सन् २०२६ को पुरुष टी–२० विश्वकपलाई लिएर भारत र बंगलादेशबीच देखिएको विवाद थप चर्किँदै गएको छ । यही विवादमा अब पाकिस्तान पनि खुलेर प्रवेश गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बंगलादेशको अडानलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई औपचारिक पत्र पठाएको छ ।
आइसिसीले बंगलादेशको सहभागिताबारे अन्तिम निर्णय लिनु एक दिनअघि पाकिस्तानले पठाएको पत्रमा छिमेकी मुलुकहरूबीचको राजनीतिक तनावका कारण बंगलादेशले भारतमा खेल्न नचाहनु स्वाभाविक र जायज रहेको उल्लेख गरिएको छ । पाकिस्तानको भनाइमा सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरेर कुनै पनि टोलीलाई खेल्न बाध्य पार्न मिल्दैन ।
बंगलादेशले सुरक्षाकै कारण देखाउँदै आफ्ना विश्वकप खेलहरू भारतबाट सारेर श्रीलंका लैजान माग गरेपछि आइसिसीले बुधबार बोर्ड बैठक बोलाएको हो । उक्त बैठकलाई यस विषयमा अन्तिम निर्णय हुने निर्णायक बैठकका रूपमा हेरिएको छ ।
यद्यपि पाकिस्तानको समर्थनले आइसिसीको अडानमा ठूलो परिवर्तन आउने संकेत भने देखिएको छैन । आइसिसीले अहिलेसम्म खेल तालिका नफेर्ने र बंगलादेशले भारतमै खेल्नुपर्ने अडान दोहोर्याउँदै आएको छ । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्नो सरकारको समर्थनमा भारत गएर खेल्न नसकिने स्पष्ट पार्दै आएको छ ।
विश्वकप सुरु हुन अब तीन हप्ताभन्दा कम समय बाँकी रहँदा पनि अन्योल कायमै छ । यसैबीच, पाकिस्तानले बंगलादेशका खेलहरू आफ्नो देशमा आयोजना गर्ने प्रस्ताव गरेको वा बंगलादेश नखेले पाकिस्तानले पनि विश्वकप खेल्नेबारे पुनर्विचार गर्न सक्ने जस्ता खबरहरू बाहिर आए पनि पाकिस्तानले त्यसबारे आधिकारिक रूपमा केही बोलेको छैन ।
यो विवाद भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइपिएल टोली कोलकाता नाइट राइडर्सलाई बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टिमबाट हटाउन निर्देशन दिएपछि चर्किएको हो । भारत–बंगलादेशबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण यस्तो निर्णय गरिएको चर्चा छ । यसपछि बंगलादेश सरकारले औपचारिक रूपमा आफ्नो राष्ट्रिय टोली भारतमा नखेल्ने घोषणा गरेको थियो ।
विवादको असर बंगलादेश भित्रै पनि देखिएको छ । केही खेलाडीहरूले खेल बहिष्कार गरेपछि अहिले भइरहेको बंगलादेश प्रिमियर लिगसमेत प्रभावित बनेको छ । बीसीबीका एक अधिकारीले बंगलादेशले विश्वकप नखेले आर्थिक नोक्सानी हुने अभिव्यक्ति दिँदा खेलाडीहरू अपमानित भएको महसुस भएपछि आन्तरिक कलह झन् बढेको हो ।
टी–२० विश्वकपमा बंगलादेश नेपालसहित पाँच टोली रहेको समूह ‘सी’ मा परेको छ । बंगलादेशले कोलकातामा तीन खेल खेल्ने तालिका छ भने नेपालविरुद्धको अन्तिम खेल मुम्बईमा हुने तय छ । तर जारी विवादले निर्धारित तालिकामै विश्वकप हुने–नहुने विषयलाई अनिश्चित बनाएको छ ।