सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:- नेपाली खेलकुदका केही हस्तीहरु यतिवेला चुनाबी मैदानमा उत्रिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्ल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र क्रिकेट कमेन्टटर सचिन तिमल्सेना चुनावी मैदानमा होमिएका हुन् ।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय क्यानका अध्यक्ष चन्दले यसपटक प्रत्यक्ष चुनावी मैदान रोजेका छन्। उनले बैतडीबाट मनोनयन दर्ता गराएका छन् । क्यानको नेतृत्वमा रहँदा नेपाली क्रिकेटले हात पारेको सफलता र उनको जिल्ला सभापतिको पकडका कारण उनी बैतडीमा बलियो उम्मेदवार मानिएका छन्। शिक्षण पेशा छाडेर पूर्ण राजनीतिमा होमिएका उनी पहिलो पटक संसदीय निर्वाचन लड्दैछन्।
पुर्वकप्तान ज्ञानेन्द्र मल्ल भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तर्फबाट राजनीतिक यात्रा सुरु गरेका छन् । उनी रास्वपाको समानुपातिक बन्दसूचीमा अटाएका छन् । क्रिकेट मैदानको मिडल अर्डर सम्हाल्ने अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्रले अब संसद्को पिचमा खेलकुद र युवाका मुद्दा उठाउने अपेक्षा गरिएको छ। क्रिकेटको कमेन्ट्री बक्सबाट चिनिएका चर्चित स्वर सचिन तिमल्सेना यसपटक सबैभन्दा ठूलो सरप्राइजका रूपमा देखिएका छन्। उनलाई नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नं. ४ बाट उम्मेदवार बनाएको छ। यो त्यही क्षेत्र हो जहाँबाट यसअघि गगन थापाले चुनाव जित्दै आएका थिए। गगन थापा यसपटक सर्लाही(४ बाट लड्ने भएपछि उनले आफ्ना निकट मानिने युथ कांग्रेसका संस्थापक सचिनलाई सो क्षेत्र सुम्पिएका हुन्। युवाहरूमाझ निकै लोकप्रिय सचिनको प्रतिस्पर्धाले काठमाडौँ ४ को चुनाव निकै रोचक हुने देखिएको छ। खेलाडी र खेलसँग जोडिएका यी हस्तीहरूको आगमनले यसपटकको निर्वाचनमा खेलकुद नीति र युवा स्वर प्रखर रूपमा उठ्ने देखिएको छ। विशेष गरी काठमाडौँ ४ मा सचिन तिमल्सेनाको उम्मेदवारी र बैतडीमा चतुरबहादुर चन्दको उपस्थितिलाई धेरैले चासोका साथ हेरेका छन्।