सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:आगामी माघ २८ गते तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया हालका लागि रोकिएको छ। उच्च अदालत पाटनले एन्फा निर्वाचनका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सोमबार न्यायाधीश कृपासुर कार्कीको इजलासले उम्मेदवारी दर्ता लगायत निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रक्रिया अघि नबढाउन आदेश दिएको अदालतले जनाएको छ।
गोरखा जिल्ला फुटबल संघका अमित खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। खत्रीले राष्ट्रिय खेलकुद परिषद्, परिषद्का पदाधिकारी तथा एन्फाका अध्यक्ष र महासचिवलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई विधान संशोधन गरेर मात्र निर्वाचन गर्न निर्देशन दिएको थियो। परिषद्को निर्देशन विपरीत एन्फाले निर्वाचन तालिका सार्वजनिक गरी प्रक्रिया अघि बढाएको थियो।
परिषद्ले जिल्ला र प्रदेश तहको निर्वाचन सम्पन्न गरेर मात्र केन्द्रको निर्वाचन गर्नुपर्ने उल्लेख गरे पनि एन्फाले भने केन्द्रीय समितिको मात्र निर्वाचन गराउन खोजेको थियो।
एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गते सकिँदैछ। तर कार्यकाल बाँकी रहँदै चार महिनाअघि नै निर्वाचन गराउन खोजिएको भन्दै एन्फाभित्रैबाट विरोध हुँदै आएको छ।
एन्फा विधानमा कार्यकाल सकिनु अघि निर्वाचन गर्ने व्यवस्था नरहेको दाबी गर्दै उपाध्यक्षद्वय तथा केही केन्द्रीय सदस्यले निर्वाचन प्रक्रिया विधानविपरीत रहेको बताएका छन्। पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि तहगत निर्वाचनपछि मात्र केन्द्रको निर्वाचन हुनुपर्ने धारणा राख्दै आएका छन्।
अब अदालतको अन्तरिम आदेशपछि एन्फाको निर्वाचन प्रक्रिया अनिश्चित बनेको छ।