T10 T10

मैदानमा देशको सान राख्ने ‘साम्बा’ आज उपचारका लागि हारगुहार गर्दै: ‘थाकेको हुँ, हारेको छैन’

देश र विश्वभर रहेका नेपालीहरूसँग सहयोगको याचना
सोमबार, फागुन ११, २०८२
Global

काठमाडौँ:- नेपाली महिला फुटबलकी ‘पोष्टर गर्ल’ सावित्रा भण्डारी साम्बा, जसले विपक्षीको डिफेन्स मात्र तोडिनन्, नेपाली फुटबलको पहिचानलाई युरोपका मैदानसम्म पुर्‍याइन्। तर, आज तिनै योद्धा आफ्नै करियरको सबैभन्दा कठिन खेल खेल्दैछिन्— यो खेल मैदानमा होइन, अस्पतालको बेड र आर्थिक अभावको विरुद्धमा हो।
पछिल्लो सात हप्तादेखि चोटका कारण मैदान बाहिर रहेकी साम्बाले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै देश र विश्वभर रहेका नेपालीहरूसँग सहयोगको याचना गरेकी छन्। 
उनको घुँडाको एसीएल र एमसीएलमा गम्भीर चोट लागेको छ, जसको उपचारका लागि करिब ८० हजार अमेरिकी डलर अर्थात् १ करोड नेपाली रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

साम्बाले आफ्नो पोस्टमा खेलकुदको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फा प्रति गम्भीर असन्तुष्टि र दुःख व्यक्त गरेकी छन्। अघिल्लो पटक चोट लाग्दा एन्फाकै पहलमा कतारको एस्पेटारमा उपचार भएर उनी मैदान फर्केकी थिइन्। तर, यसपटक भने एन्फाले हात झिकेको उनको गुनासो छ।
"मैले पटक(पटक प्रयास गर्दा पनि सम्पर्क गर्न कठिन भयो। अन्त्यमा अध्यक्षज्यूले प्रशासनिक सहयोग गर्न नसकिने र व्यक्तिगत रूपमा ५ लाखसम्म मात्र सहयोग गर्ने भन्दै अन्य प्रक्रिया आफैँ गर्न भन्नुभयो," साम्बाले भावुक हुँदै लेखेकी छन्।
क्लबका लागि खेल्दा चोट लागेको भन्ने तर्क सुनेर आफू निकै निरास भएको उनले बताएकी छन्। इजरायल, फ्रान्स वा न्युजिल्याण्ड— जहाँ खेले पनि आफूले सधैँ नेपालकै नाम र झण्डा बोकेको उनको भनाइ छ।
न्युजिल्याण्डको क्लबले स्थानीय अस्पतालमा उपचार गर्ने प्रस्ताव राखे पनि साम्बा भने कतारकै उच्च स्तरीय अस्पताल एस्पेटार मा शल्यक्रिया गराउन चाहन्छिन्। क्लबले बीमाबाट दिने रकम शल्यक्रिया र ७-८ महिनाको लामो पुनस्थापना  का लागि अपुग हुने भएपछि उनले सार्वजनिक अपिल गर्नुपरेको हो।
आर्थिक र मानसिक रूपमा निकै थकित भए पनि साम्बाको आत्मबल भने डगमगाएको छैन। उनले लेखेकी छन्ः
"यो मेरो करियरको सबैभन्दा कठिन लडाइँ हो। तर मलाई विश्वास छ म फर्कनेछु। थाकेको हो, हारेको छैन। पुनस् एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।"
देशका लागि गोलको वर्षा गर्ने यी गोल मेसिनलाई अहिले देशको साथ चाहिएको छ। एउटी राष्ट्रिय क्याप्टेनले उपचारका लागि हात फैलाउनुपर्ने यो स्थितिले हाम्रो राज्य संयन्त्र र खेलकुद प्रशासनको खोक्रोपनलाई उदाङ्गो पारेको छ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्