T10 T10

टिकटक बन्यो फिफाको कन्टेन्ट पार्टनर

सोमबार, पुस २८, २०८२
Global

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आगामी पुरुष विश्वकपसँग सम्बन्धित सम्झौता, मूल्य, टेन्डर प्रक्रिया वा प्रतिस्पर्धी बोलपत्रदाताबारे हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन। यसअघि सन् २०२२ को कतार विश्वकपमा युट्युबसँग सीमित प्रायोजन सम्झौता भएको थियो, जसबाट सामग्री सिर्जनाकर्तालाई विशेष पहुँच दिइएको थियो।

यसपटक फिफाले आगामी ११ जुनदेखि १९ जुलाईसम्म चल्ने पुरुष विश्वकपका सामाजिक सञ्जाल भिडियो सामग्रीका लागि टिकटकलाई मुख्य प्लेटफर्मका रूपमा छनोट गरेको छ। यसबाट ४८ टोली सहभागी विश्वकपका लागि कन्टेन्ट क्रियटरले विशेष पहुँच पाउनेछन्। प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडाका १६ सहरमा आयोजना हुनेछ।

फिफाका अनुसार विश्वकप प्रसारण अधिकार पाएका प्रसारकले टिकटकमार्फत १०४ खेलका अंश प्रत्यक्ष प्रसारण गर्न सक्नेछन्। टिकटकका अमेरिकामा मात्रै १७ करोडभन्दा बढी प्रयोगकर्ता छन्। साथै, सिर्जनाकर्ताले फिफाको अभिलेख फुटेज प्रयोग गर्ने अवसर पनि पाउनेछन्।

यसैबीच, ब्राजिलियन राष्ट्रिय टोलीले विश्वकप तयारी अन्तर्गत संयुक्त राज्य अमेरिकामा मैत्रीपूर्ण खेल खेल्ने तालिका सार्वजनिक भएको छ। ब्राजिलले २६ मार्चमा फ्रान्स र त्यसको पाँच दिनपछि क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।

पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले १३ जुनमा मोरक्कोविरुद्ध विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि फिलाडेल्फियामा हाइटी र मियामी गार्डेनमा स्कटल्यान्डसँग समूह चरणका खेल खेल्ने तालिका छ।

क्रोएसियाले भने २६ मार्चमा कोलम्बिया र २९ मार्चमा फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ। यी खेल विभिन्न अन्तर्राष्ट्रिय खेल प्रवर्द्धक संस्थाद्वारा आयोजना गरिँदै छन्।

उता भारतमा भने फुटबल प्रशासनिक अराजकता र आर्थिक संकटबीच फिफा विश्वकप ट्रफी भ्रमण सुरु भएको छ। तीन दिने भ्रमणका लागि विश्वकपको मूल ट्रफी भारत पुगेको हो। ट्रफी अनावरण कार्यक्रममा भारतका केन्द्रीय खेलकुद मन्त्री मनसुख मांडवीय, एआईएफएफ अध्यक्ष कल्याण चौबे र ब्राजिलियन पूर्व खेलाडी गिल्बर्टो सिल्भा सहभागी थिए।

तर सामाजिक सञ्जालमा धेरै प्रशंसकले घरेलु फुटबल संकटमा रहेका बेला ट्रफी भ्रमणलाई ‘देखावटी कार्यक्रम’ भन्दै आलोचना गरेका छन्।

यसैबीच, लामो अन्योलपछि भारतीय सुपर लिग आगामी १४ फेब्रुअरीदेखि पुनः सुरु हुने तय भएको छ। यद्यपि, खेलाडीको तलब कटौती, आर्थिक समस्या र लामो विश्रामका कारण भारतीय टोलीको फिटनेसमा गिरावट आएको बताइएको छ। फिफा वरीयतामा भारत १४२औं स्थानमा झरेको छ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्