सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न तेस्रो तथा पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई २५–२१, २५–२३ र २५–२२ को सेटमा हरायो।
पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा आज अपरान्ह ४ बजे त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले शनिबार हेल्प नेपालसँग फाइनल खेल्नेछ। पुरुष फाइनल खेल शनिबार दिउँसो ३ बजेर ३० मिनेटमा हुनेछ।
महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब उपाधिका लागि भिड्ने भएका छन्। विभागीय डर्बीका रूपमा भएको दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्यो।
यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।