T10 T10

नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल पुस अन्तिम साता

बिहीबार, पुस १०, २०८२

काठमाडौँ:शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुनेछन्। टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ। केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख रुपैयाँ रहेको छ।

विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपैयाँसहित सम्मान गरिनेछ।

खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ। एपीएफले सुरुका छ संस्करणको उपाधि जितेको थियो भने सातौँमा न्यु डायमन्ड र गत संस्करणमा नेपाल प्रहरी च्याम्पियन बनेको थियो। पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरे।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्