सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उत्कृष्ट ह्याट्रिकसँगै वेलिंगटन फिनिक्सले निन्जा ए–लिगमा शानदार जित दर्ता गरेको छ। शनिबार सम्पन्न खेलमा वेलिंगटनले सिड्नी एफसीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो।
वेलिंगटनको आक्रामक जितमा साम्बा मुख्य आकर्षण बनिन्। उनले खेलको १३औँ, ६९औँ र ८०औँ मिनेटमा गोल गर्दै यस सिजनको पहिलो ह्याट्रिक पूरा गरिन्। साम्बाको गोलसँगै वेलिंगटनले खेलभरि दबदबा कायम राख्यो।
खेल सुरु भएको तेस्रो मिनेटमै वेलिंगटनले अग्रता बनाउँदै आक्रामक संकेत दिएको थियो। सुरुदेखि नै दबाबमा परेको सिड्नी एफसीले खेलभरि पुनरागमनको अवसर पाउन सकेन।
साम्बाको ह्याट्रिक प्रदर्शनले वेलिंगटनको जितलाई अझ प्रभावशाली बनाएको छ भने नेपाली फुटबल समर्थकका लागि पनि गर्वको क्षण बनेको छ। अन्तर्राष्ट्रिय लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बाले फेरि एकपटक आफ्नो गोल क्षमता प्रमाणित गरेकी छन्।