सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधिका लागि आज नेपालको लिग च्याम्पियन एपीएफ क्लब र भारतको लिग च्याम्पियन इस्ट बंगाल आमनेसामने हुँदैछन्। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ।
दक्षिण एसियाली फुटबल संघ (साफ) ले महिला फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक क्लब स्तरको यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा नेपाल र भारतसहित दक्षिण एसियाका पाँच देशका क्लबहरूको सहभागिता रहेको थियो। लिग चरणको समाप्तिमा अपराजित रहँदै एपीएफ र इस्ट बंगाल शीर्ष दुई स्थानमा रहेर फाइनलमा प्रवेश गरेका हुन्।
नेपाली महिला फुटबल टोलीले विगतमा धेरै पटक अन्तर्राष्ट्रिय फाइनल खेले पनि उपाधि उचाल्न भने सकेको छैन। घरेलु मैदानमा भइरहेको यो फाइनल एपीएफका लागि ऐतिहासिक अवसर बनेको छ। यद्यपि टोली सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता मुख्य खेलाडीबिना मैदानमा उत्रिँदैछ। चोटका कारण सबिता राना मगर पनि टोलीबाट बाहिर छिन्।
दुवै टोली फाइनलसम्म आइपुग्दा अपराजित छन् र अहिलेसम्म एक गोलसमेत कन्सिड गरेका छैनन्। लिग चरणमा इस्ट बंगालले चारमध्ये तीन खेल जित्दै एक खेल बराबरी खेल्यो भने एपीएफले दुई खेल जित्दा दुई खेल बराबरीमा टुंग्यायो। फाइनलअघि दुवै टोलीबीच भएको अन्तिम लिग खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्रदर्शनको आधारमा इस्ट बंगाल प्रतियोगिताकै बलियो टोलीका रूपमा देखिएको छ। उसले लिग चरणमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीलाई ४–०, पाकिस्तानको कराची सिटी एफसीलाई २–० र बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ७–० ले पराजित गर्दै प्रभावशाली यात्रा तय गरेको हो।
यता एपीएफले उद्घाटन खेलमै नसरिन स्पोर्ट्स एकेडेमीमाथि ४–० को जित निकाल्दै प्रतियोगिता सुरु गरेको थियो। त्यसपछि ट्रान्सपोर्ट युनाइटेड लेडिजसँग गोलरहित बराबरी खेलेको एपीएफले कराची सिटी एफसीलाई १–० ले पराजित गरेको थियो।
लिग चरणमा इस्ट बंगाल १० अंकसहित शीर्ष स्थानमा रहँदा एपीएफ ८ अंकसहित दोस्रो स्थानमा रह्यो। भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंकसहित तेस्रो स्थानमा रह्यो भने समान २–२ अंक भए पनि गोलअन्तरका आधारमा कराची सिटी चौथो र नसरिन स्पोर्ट्स एकेडेमी पुछारमा रहँदै प्रतियोगिता समाप्त भयो।
घरेलु दर्शकको साथ र समर्थन एपीएफका लागि ठूलो बलियो पक्ष बनेको छ भने इस्ट बंगाल उत्कृष्ट फर्मसहित उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रिँदैछ। आजको फाइनलले साफ महिला क्लब च्याम्पियनसिपको पहिलो विजेताको टुंगो लगाउनेछ।