सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
वेशीसहर :लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ।
बेसीशहरस्थित त्रिवेणी युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको ३३ औँ संस्करण पुस १२ गतेदेखि सञ्चालन हुने भएको हो।
आयोजक क्लबले शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट गरी प्रतियोगितासम्बन्धी जानकारी गराएको छ। क्लबका अध्यक्ष टेकजंग गुरुङका अनुसार यस वर्ष त्रिवेणी कपको विजेता टोलीले १२ लाख रुपैयाँ नगदसहित कप, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई ६ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ नगद र ट्रफी दिइनेछ।
यस वर्ष प्रतियोगितामा ६ आमन्त्रित र १० खुला गरी १६ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता सञ्चालनका लागि १ करोड ३२ लाख रुपैयाँभन्दा बढी खर्च अनुमान गरिएको छ, जसमा आमन्त्रित टोलीको व्यवस्थापन खर्च मात्रै १७ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ।
त्यसैगरी, पुस १५ गते तमु ल्होसारको अवसरमा बेसीशहर–७ मनाङ्गे चौतारामा ‘त्रिवेणी साँझ’ तथा सडक खाना महोत्सव आयोजना गरिनेछ। यस कार्यक्रमका लागि करिब २४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।