T10 T10

भलिबल प्रशिक्षक जगदीश भट्ट जिम्मेवारीबाट टाढिने

बुधबार, असोज ८, २०८२
Global

काठमाडौं :नेपाली भलिबलका अनुभवी प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक जगदीश प्रसाद भट्टले अब सक्रिय भलिबल जिम्मेवारीबाट टाढिन लागेको घोषणा गरेका छन्। उनले तीन दशक लामो भलिबल यात्रालाई विश्राम दिने निर्णय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, “बिगत तीन दशकको यात्रापछि मैले जे–जे गरेँ, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरेँ।” उनले नेपाली भलिबललाई राष्ट्रिय स्तरमा स्थापित गर्न व्यक्तिगत चाहना र स्वार्थभन्दा माथि उठेर काम गरेको दाबी गर्दै, अब भने नकारात्मक सोच, असहयोग र निराशाको कारण आफू थाकेको उल्लेख गरेका छन्।

स्वास्थ्यमा असर, परिवारको आग्रह

लगातारको मानसिक दबाब, असहयोग, आलोचना र असन्तुष्ट समूहको व्यवहारले आफ्नै स्वास्थ्यमा असर पारेको भन्दै भट्टले अब सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन्। “अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ,” उनले लेखेका छन्। परिवारको आग्रहले पनि यो निर्णयमा पुग्न बाध्य भएको उनी स्पष्ट पार्छन्।

अब ‘राखेप’ कार्यक्रम सीमित जिम्मेवारी

भट्टले अबदेखि राष्ट्रिय खेलकुद परिषद्को जागिरमै रहेसम्म मात्रै सरकारी कार्यक्रममा सहभागी हुने जनाएका छन्। अन्यथा, कुनै छनोट प्रक्रिया वा सहभागितामा संलग्न नहुने उल्लेख गर्दै अब बाहिरबाट भलिबललाई सहयोग गर्ने बाटो रोज्ने बताएका छन्।

भलिबलप्रतिको प्रेम कायम

“भलिबल खेल मेरो आत्मा हो—यो सदैव मेरो जीवनसँग रहनेछ,” भन्दै भट्टले खेलप्रतिको माया अझै जीवित रहेको प्रस्ट पारेका छन्। भविष्यमा आफ्नो अनुभव र ज्ञान जहाँ आवश्यक हुन्छ, त्यहाँ खुशीसाथ सन्देश बाँड्ने बताएका छन्।

भट्ट नेपाली भलिबलको विकासमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहेकाले उनको यो निर्णय नेपाली भलिबल क्षेत्रका लागि गम्भीर सन्देशको रूपमा हेरिएको छ। अब आगामी दिनमा नेपाली भलिबलले कसरी नेतृत्व पाउँछ भन्ने प्रश्न पनि उठेको छ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्