सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोकबहादुर बुढालाई नियुक्त गरेको छ। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव बटुलेका बुढा पहिलोपटक फ्रेन्चाइज लिगमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।
पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको नेतृत्व नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले गरेका थिए। यस सिजन भने टिमले नयाँ रणनीति र ऊर्जा ल्याउने लक्ष्यसहित लोकबहादुरलाई बागडोर सुम्पिएको हो।
त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी रहेका बुढा हाल सोही क्लबमा प्रशिक्षकको रूपमा कार्यरत छन्। उनले राष्ट्रिय टोलीको कोचिङ स्टाफमा समेत रहेर योगदान गरिसकेका छन्। काठमाडौं स्पाइकर्सले उनको अनुभव, अनुशासन र भलिबलप्रतिको समर्पण टिमको सफलतामा सहायक हुने विश्वास व्यक्त गरेको छ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि बुढाले भने, “एभरेष्ट महिला भलिबल लिगमा प्रशिक्षकको रूपमा अवसर पाउँदा खुशी छु। राष्ट्रिय टोली र विभागीय टिममा प्रशिक्षक भएर काम गरेको अनुभव काठमाडौंको सफलतामा प्रयोग गर्नेछु। अक्सनबाट खेलाडी अनुबन्ध भइसकेका छन्, अब छिट्टै विदेशी खेलाडी पनि टिममा आउनेछन्।”
काठमाडौं स्पाइकर्समा नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयरको रूपमा रहेका छन्। टिममा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द पनि छन्। अक्सनबाट कबिता भट्ट अनुबन्ध भएपनि अष्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई स्थान दिइएको हो।