hERO hERO

अस्ट्रेलिया पलायन भइन भलिबल खेलाडी कबिता भट्ट

बुधबार, साउन २१, २०८२

काठमाडौं :भलिबल कोर्टमा आफ्नो उचाइ र संघर्षको कथा कोर्दै आएकी कविता भट्ट अब टिमका साथीहरू सँगै अभ्यासमा देखिँदैनन्। नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मिडल ब्लकर तथा एपीएफ क्लबकी महत्त्वपूर्ण सदस्य रहेकी कविता अब अस्ट्रेलियामा छिन् — जहाँ उनले अर्को जिन्दगीको सुरुवात गर्ने निर्णय लिएकी छन्।

एक समय थियो, कविता ‘पिपुल्स च्वाइस अवार्ड’ जितेर भलिबलका टप स्टारहरूमध्ये गनिन्थिन्। काभा महिला नेसन्स लिग २०२४ मा दोस्रो स्थान हासिल गर्ने नेपाली टिमकी सदस्य, काभा च्यालेन्ज कप २०२३ मा तेस्रो हुने गौरव बोकेको यो खेलाडी अहिले भने आफ्ना सपना होइन, बाध्यता बोकेर उडेकी छन्।

कविताले आफ्नो क्लब एपीएफबाट राजीनामा दिइसकेकी छन्, र त्यो राजीनामा स्वीकृत समेत भइसकेको स्रोतहरू बताउँछन्। गण्डकी थन्डर्सबाट इडब्लुभीएलमा चम्किएपछि उनले यस सिजनका लागि काठमाडौं क्वीन्ससँग अनुबन्ध गरिसकेकी थिइन्, तर खेलमैदानभन्दा बाहिरको यथार्थले उनलाई मैदानबाट टाढा पुर्‍यायो।

कविता मात्र हैनन्, थुप्रै खेलाडीको कथा एउटै छ
कविता भट्टको कथा यथार्थ हो — तर अपवाद होइन।

योभन्दा अगाडि, फुटबलबाट अनुशासन, समर्पण र परिश्रमको पाठ पढेकी नेपाल महिला फुटबल टिमकी गोलकिपर अनिता बस्नेत पनि विदेश पलायन भइन्। त्यस्तै, फरवार्ड मञ्जली योञ्जन, डिफेन्डर अमृता ज्ञवाली लगायत थुप्रै महिला फुटबल खेलाडीहरू अस्ट्रेलिया, अमेरिका र युरोपतिर लागेका छन्।

यी सबैको साझा कथा एउटै छ — ‘नेपालमा अब सम्भावना छैन, संघर्ष मात्रै छ।’

भनिन्छ, खेलाडीहरू देशका प्रतिनिधि हुन्। तर जब देशले आफ्ना प्रतिनिधिलाई रोजगारी, भविष्यको सुरक्षा र सम्मान दिन सक्दैन, तब उनीहरूका पाइला विदेशतिर मोडिन्छन्।

टिममेटहरूको बिदाइ — अश्रु र अभावको साक्षी
अस्ट्रेलिया जानुअघि कविता भट्टलाई उनका टिममेटहरूले बिदाइ गरे। फोटोहरूमा देखिन्छ – एक अर्कालाई अँगालो हाल्दै, शुभकामना दिँदै तर मनभित्र चिसो पीडा लुकाउँदै। किनकि उनीहरूलाई थाहा छ, कविताको आजको यात्रा भोलिका उनीहरूको यात्राको पूर्वाभ्यास हुन सक्छ।

खेलाडीलाई देशमै अवसर कहिले?
हाम्रो देशमा महिला खेलाडीहरूलाई तलबको ग्यारेन्टी छैन, करिअरको सुनिश्चितता छैन। उनीहरूको मेहनत मेडलको लहरोसँगै सेलाउँछ।

जब राष्ट्रिय टिमकी सदस्य पनि देशमा बस्न सक्दिनन् भनेर बिदेसिन्छन्, तब त्यो केवल व्यक्तिगत निर्णय होइन — त्यो सिस्टमप्रतिको अविश्वासको प्रतीक हो।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्