T10 T10

डुरान्ड कप : समूह चरणबाटै बाहिरियो आर्मी

बुधबार, साउन २१, २०८२
Global

काठमाडौ:नेपालको शीर्ष डिभिजन टोली त्रिभुवन आर्मी क्लब डुरान्ड कप २०२५ को समूह चरणबाटै बाहिरिएको छ।

मंगलबार समूह 'सी' अन्तर्गत भएको अन्तिम खेलमा आर्मी क्लब इन्डियन आर्मी क्लबसँग १–० गोल अन्तरले पराजित भयो।

जमशेदपुरको टाटा स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलको २१औं मिनेटमा इन्डियन आर्मीका पी. क्रिस्टोफर कामेईले गरेको गोल नै निर्णायक बन्यो। खेलको २९औं मिनेटमा नेपाली टोली थप दबाबमा परेको थियो, जब गोलकिपर विकेश कुथुले रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा सीमित रह्यो।

समूह चरणको तीन खेलमध्ये आर्मीले जमशेदपुरसँग हार, लद्दाख एफसीसँग बराबरी र इन्डियन आर्मीविरुद्ध हार बेहोरेर कुल १ अंकसहित पुछारमै सीमित रह्यो।

दोस्रो हाफमा आर्मीले काउन्टर अट्याकमार्फत गोल फर्काउने प्रयास गरे पनि घरेलु टोलीको कडा रक्षापंक्ति र गोलकिपरलाई पार गर्न सकेन। कप्तान जिलेस्पीजंग कार्कीको हेडर क्रसबारमा लाग्दै फर्किएको थियो भने डिसान्त राईको प्रयास पनि असफल रह्यो।

यो हारसँगै त्रिभुवन आर्मीको डुरान्ड कपको १३४औं संस्करणको यात्रा यहीं टुंगिएको छ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्