सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतको जमशेदपुरमा जारी १३४औं डुरान्ड कप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले हारबाट जोगिदै लद्दाख फुटबल क्लबसँग १–१ को रोमाञ्चक बराबरी खेलेको छ।
शनिबार टाटा स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा त्रिभुवन आर्मीका लागि युवा स्ट्राइकर निराजन धामीले उत्कृष्ट गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। काउन्टर अट्याकमा पाएको पास सदुपयोग गर्दै खेलको ४०औं मिनेटमा उनले गोल गरे र त्यसपछि विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोको 'सिउ' शैलीमा उत्सव मनाए।
त्यसअघि, लद्दाखले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो। कर्नरबाट आएको क्रसलाई सेन्टर ब्याक सिजुले हेडमार्फत गोलमा परिणत गरेका थिए। उनी डुरान्ड कपमा गोल गर्ने पहिलो लद्दाखी खेलाडी बने।
त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यस खेलमा गोलकिपर समित श्रेष्ठसहित तीन खेलाडीमा परिवर्तन गरेका थिए। दोस्रो हाफभर आर्मीले बल नियन्त्रणमा राखेपनि, लद्दाखको सशक्त रक्षापंक्ति पार गर्न सकेन।
यो बराबरीसँगै दुवै टोलीले प्रतियोगिताको पहिलो अंक बटुलेका छन्। आर्मीले यसअघि जमशेदपुर एफसीसँग ३–२ को हार व्यहोरेको थियो। समूह ‘सी’ मा जमशेदपुर दुई खेलमै जित निकाल्दै शीर्ष स्थानमा रहेको छ। आर्मीले अब मंगलबार इन्डियन आर्मी फुटबल क्लबसँग खेल्ने तालिका रहेको छ।
१३४औं संस्करणको डुरान्ड कपमा २४ टोली सहभागी छन्। ६ समूहमा विभाजन गरिएका टोलीहरू सिंगल राउन्ड रोबिन आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन्।