Ncit Ncit

अन्तिम मिनेटमा गुमेको जित : एपिएफ र श्री भगवतीबीच रोमाञ्चक बराबरी

बुधबार, साउन १४, २०८२

काठमाडौं :यु–१६ एन्फा युथ लिग फुटबलमा बुधबार विभागीय टोली एपिएफ फुटबल क्लबलाई अन्तिम मिनेटमा श्री भगवती क्लबले जितको स्वाद चाख्न दिएन ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका छन् ।

खेलमा एपिएफले पहिलो हाफदेखि नै दबदबा जमाएको थियो । आयुश सरकारको गोलमार्फत अग्रता लिएको एपिएफले दोस्रो हाफमा पनि लय कायमै राख्दै अर्को गोल थप्यो र २–० को सहज अग्रता बनायो ।

तर, खेलको अन्तिम समयमै एपिएफको जितको सपना चकनाचुर बन्यो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा श्री भगवतीका सविरले गोल फर्काउँदै टोलीलाई खेलमा फर्काए । त्यसपछि थपिएको इन्जुरी समयमा श्री भगवतीले पेनाल्टीको मौका पायो । दबाबपूर्ण क्षणमा अनिलले चुकाएनन् र पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए ।

एपिएफका खेलाडीहरूका लागि यो बराबरी निकै पिरलोपूर्ण रह्यो । जित नजिकै पुगेर अन्तिम मिनेटमा बराबरीमा रोकिँदा खेलाडीहरू मैदानमै निराश देखिए ।

एन्फा युथ लिग अन्तर्गतको यो खेलले दुबै टोलीलाई अंकको बाँडफाँट मात्र नभई अर्को खेलका लागि धेरै पाठ पनि दिएको छ — अन्तिम सिटी बज्नुअघि खेल सकिँदैन भन्ने कुरा फेरि एकपटक पुष्टि भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्