Ncit Ncit

साबिक विजेता चीन र बंगालादेश एकै समहुमा

मंगलबार, साउन १३, २०८२

काठमाडौँ :अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका लागि समूह विभाजन सार्वजनिक भएसँगै दक्षिण एसियाका दुई राष्ट्र बंगलादेश र भारतले नयाँ इतिहास रचेका छन्। दुवै टिम पहिलो पटक छनोट चरण पार गर्दै एसियन कप खेल्न जाँदैछन्।

मंगलबार सार्वजनिक समूह विभाजन अनुसार बंगलादेशले साविक विजेता चीन, उत्तर कोरिया र उज्वेकिस्तानसँग समूह ‘बी’मा प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले छनोटमा म्यानमार, बहराइन र तुर्कमिनिस्तानलाई पन्छ्याउँदै स्थान पक्का गरेको हो। उता उज्वेकिस्तानले नेपाल, लाओस र श्रीलंकालाई पछि पार्दै पहिलो पटक एसियन कपको टिकट काट्न सफल भयो।

यता भारत समूह ‘सी’ मा जापान, भियतनाम र चाइनिज ताइपेइसँग खेल्नेछ। थाइल्यान्ड, टिमोर लिस्टे, इराक र मंगोलियालाई हराउँदै भारतीय महिला टिमले पनि पहिलो पटक एसियन कपमा स्थान पक्का गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

प्रतियोगिताका लागि आयोजक अस्ट्रेलिया समूह ‘ए’ मा दक्षिण कोरिया, इरान र फिलिपिन्ससँग रहेको छ। फुटबल विश्लेषकहरूका अनुसार यो समूहलाई ‘डेथ ग्रुप’ अर्थात् सबैभन्दा चुनौतीपूर्ण समूहका रूपमा हेरिएको छ।

मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका तीन सहरमा हुने यस प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सोझै क्वार्टरफाइनलमा पुग्नेछन्। यस्तै तेस्रो हुने उत्कृष्ट दुई टोलीले पनि नकआउट चरणमा खेल्ने मौका पाउनेछन्।

दक्षिण एसियाका लागि यो प्रतियोगिता ठूलो उपलब्धिका रूपमा हेरिएको छ, जहाँ बंगलादेश र भारत दुवैले महिला फुटबलमा नयाँ अध्याय सुरु गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्