सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :महिला युरो २०२५ को उपाधि इङ्ल्यान्डले आफ्नो पोल्टामा पारेको छ।
रोमाञ्चक पेनाल्टी सुटआउटमा स्पेनमाथि ३-१ को जित निकाल्दै ‘लायोनेस्स’ हरु युरोपकी नयाँ च्याम्पियन बनेका छन्।
निर्धारित ९० मिनेट र थपिएको समयमा दुवै टोलीले एक–एक गोल गर्दै खेल बराबरीमा टुंग्याएपछि नतिजा पेनाल्टीमा पुगेको थियो।
यस जितमा फेरि एकपटक क्लोई केली मुख्य पात्र बनिन्। २०२२ को वेम्ब्ली फाइनलमा इङ्ल्यान्डलाई उपाधि दिलाउने निर्णायक गोल गरेकी केलीले यसपटक निर्णायक पेनाल्टीमा गोल गर्दै जित पक्का गराइन्।
स्पेनकी गोलकिपरलाई छक्याएर उनले निर्णायक प्रहार गरेकी हुन्। अर्कोतर्फ, इङ्ल्यान्डकी गोलकिपर हाना ह्याम्पटनले स्पेनका लगातार दुई पेनाल्टी बचाउँदै नायिकाको भूमिका निभाइन्।
यो इङ्ल्यान्डको कुनै पनि टिमले विदेशी मैदानमा जितेको पहिलो ठूलो फुटबल उपाधि बनेको छ। साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरो उपाधि जित्दै आफूलाई सफल प्रशिक्षकको रूपमा अझै स्थापित गरेकी छन्।
खेलमा इङ्ल्यान्ड फेरि पनि ‘कमब्याक क्विन’ सावित भयो। पहिलो हाफमा २५औं मिनेटमा मरिओना काल्देन्तेले हेड गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्।
तर चोटको आशंका भएकी लरेन जेम्सको स्थानमा मैदान छिरेकी केलीले खेललाई नयाँ मोड दिइन्। उनले दिएको सुन्दर क्रसलाई अलेसिया रुसोले ५७औं मिनेटमा हेड गोल गर्दै स्कोर बराबरीमा ल्याइन्।
यो फाइनलसँगै इङ्ल्यान्डले युरोको नकआउट चरणमा लगातार सबै खेलमा पहिलो गोल खाएर पनि जित्ने अद्भुत क्षमतालाई फेरि प्रमाणित गर्यो।