सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
दिल्ली:कर्नाटक सरकारले जुन ४ मा एम. चिन्नास्वामी रंगशालाबाहिर आरसीबीको विजय उत्सवका क्रममा भएको भागदौड (स्टाम्पिड) का लागि आरसीबी (रोयल च्यालेन्जर्स बेंगलुरु) क्लबलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गरेको छ। घटनामा ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी व्यक्ति घाइते भएका थिए।
सरकारको स्थिति प्रतिवेदन (स्टाटस रिपोर्ट) बिहीबार सार्वजनिक गरिएको हो। कर्नाटक उच्च अदालतले उक्त प्रतिवेदन गोप्य राख्ने सरकारी आग्रह अस्वीकार गर्दै सार्वजनिक गर्न आदेश दिएको दुई दिनपछि रिपोर्ट सार्वजनिक गरिएको हो।
बिना अनुमति उत्सव आयोजना
प्रतिवेदन अनुसार, "आरसीबी व्यवस्थापनले आफ्नो कार्यक्रम साझेदार डीएनए नेटवर्क्स प्रा.लि. र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) सँग मिलेर प्रहरीसँग कुनै समन्वय नगरी तथा आवश्यक अनुमति विना नै विजय उत्सव गर्ने निर्णय गरेको थियो।"
केएससीएका प्रमुख कार्यकारी अधिकृत शुभेन्दु घोषले डीएनए इन्टरटेन्मेन्टको तर्फबाट जुन ३ का साँझ ६:३० बजे क्युब्बन पार्क प्रहरी चौकीमा उत्सवबारे जानकारी दिएका थिए। तर, आयोजकले अनुमानित भिडको विवरण, सुरक्षा तयारीबारे स्पष्ट जानकारी नदिएको र सूचना अत्यन्त ढिलो गरिएकाले प्रहरीले अनुमति अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ।
सामाजिक सञ्जालबाट खुला आमन्त्रण
जुन ४ को बिहान ७:०१ बजे आरसीबीले आफ्नो सामाजिक सञ्जालमार्फत विधान सौधदेखि चिन्नास्वामी रंगशालासम्म विजय जुलुसको आयोजना गरिने जानकारीसहित आमन्त्रण पोस्ट गरेको थियो। उक्त पोस्टमा विराट कोहलीले आफैं भिडियो सन्देशमार्फत प्रशंसकहरूलाई कार्यक्रममा आउन आग्रह गरेका थिए।
कानुनी प्रक्रिया उल्लंघन
‘बेंगलुरु सहरका सभा र्याली नियन्त्रण आदेश, २००९’ अनुसार, पूर्व अनुमति विना भिड जम्मा गर्न पाइँदैन। प्रतिवेदनमा भनिएको छ, “आयोजकले केवल जानकारी मात्र दिएका थिए, कानुनीरूपमा स्वीकृति लिने औपचारिक निवेदन भने पेस गरिएको थिएन। भिडको पूर्वानुमानका आधारमा तयारी गर्न कुनै अवसर सम्बन्धित निकायलाई दिइएको थिएन।”
प्रहरी अधिकृतहरूको निलम्बनमाथि विवाद
उक्त घटनापछि निलम्बनमा परेका प्रहरी अधिकृत विकास कुमारसहित अन्य चार जनाको सेवा पुनर्बहाली गर्ने केन्द्रीय प्रशासनिक अधिकरण (सीएटी) को आदेशविरुद्ध राज्य सरकारले आपत्ति जनाएको छ। सरकारी वकिलहरूले अदालतमा दाबी गरे कि अधिकरणले आफ्नो अधिकार क्षेत्र नाघेको छ।
सरकारको भनाइ छ, "१२ घण्टामात्र समय दिइएर यति ठूलो भिड सम्हाल्नु असम्भव थियो। तर सम्बन्धित प्रहरी अधिकारीले स्थिति नियन्त्रित गर्न प्रतिबन्धात्मक आदेश जारी गर्नुको सट्टा सामान्य सुरक्षा बन्दोबस्त मात्रै गरेका थिए।"
अनुसन्धान प्रतिवेदनको प्रतीक्षा
घटनाबारेको अनुसन्धान हाल अपराध अनुसन्धान विभाग (सीआईडी) मा अन्तिम चरणमा पुगेको छ। आरसीबी र डीएनए नेटवर्क्सका शीर्ष अधिकारीहरूले आफ्नो बयान दिएका छन्। तर, अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छैन।