सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एएफसी वुमेन्स एसियन कप छनोट २०२५ मा नेपालको महिला फुटबल टिमले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गर्यो । उज्वेकिस्तानमा सम्पन्न छनोट प्रतियोगितामा २० गोल गर्दै नेपाल नाटकीय रूपमा टाइब्रेकरसम्म पुगेको थियो । यद्यपि, नेपाली टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने अब ‘चुपचाप फर्कने’ अवस्थामा छैनन् ।
बेल्जियमका यूईएफए प्रो-लाइसेन्स प्रशिक्षक डे वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि गम्भीर प्रश्न उठाएका छन्— व्यवस्थापनको चरम कमीदेखि खेलाडीलाई मञ्च दिन नसक्ने प्रवृत्तिसम्म । उनले भने, "म नेपाल खेलाडीका लागि आएको हुँ, भद्रगोल व्यवस्थापनका लागि होइन ।"
एक अन्तवार्ताका क्रममा डे वाइल्डले प्रशिक्षणयात्रा ‘जादुमय’ भए पनि ‘कठिन र निराशाजनक’ पक्षबारे पनि खुलेर बोले ।
"हाम्रो टिमसँग तालमेल गजबको रह्यो," उनी भन्छन्, "तर त्यस्तो व्यवस्थापनबीच काम गर्न गाह्रो भयो, जहाँ खेलाडीलाई ‘हस्टेलस्तरको’ होटलमा राखिन्छ, आइससम्म नपाइने अवस्था हुन्छ र प्रशिक्षकलाई टिमभन्दा अलग राखिन्छ ।"
उनको मुख्य गुनासो व्यवस्थापनप्रति थियो—"एन्फा राजनीतिमा बढी, योजनामा कम रुचि राख्छ ।"
डे वाइल्डका अनुसार, "नेपालमा प्राविधिक निर्देशक छैन, प्रशिक्षण किट्सको अभाव छ, न विश्लेषण उपकरण छन्, न जीपीएस टेक्नोलोजी । यस्तो अवस्थामा कसरी दीर्घकालीन सुधार सम्भव हुन्छ ?"
डे वाइल्ड भन्छन्, "म ६१ वर्षको हुँ, अब मेरो लागि खुसी महत्वपूर्ण छ ।" उनी नेपाल फर्कन तयार छन्, तर एउटा सर्तमा—"म फिर्छु, केवल खेलाडीका लागि । प्रणालीमा सुधार नआए म समय खेर फाल्न चाहन्न ।"
उनले थपे, "यदि खेलाडीलाई म सहयोग गर्न सक्दिन भने म फर्किएर के गर्छु ? मैले हेरेको छु, नेपाली खेलाडीले जुन समर्पण र सम्भावना देखाए, त्यो पुरुष टिमले पनि देखाउँदैनन् ।"
टाइब्रेकरमा नेपाल पराजित भएपछिको अवस्थाबारे उनले गहिरो चोट पोखे—"तीन/चार खेलाडी पेनाल्टी लिन तयार थिएनन्, किनभने बिहानै प्रधानमन्त्रीसहितका अफिसियलसँग भिडियो कन्फरेन्स थियो । यस्तो दबाबले उनीहरू मानसिक रूपमा कमजोर भए ।"
उनले प्रश्न गरे, "रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले खेलअगाडि प्रेस मिट गर्छन् ? गर्दैनन् । हामीले पनि उज्वेकविरुद्ध खेल हारेका होइनौं, पेनाल्टीमा बाहिरियौं ।"
डे वाइल्ड आफैं फरक प्रशिक्षक भएको दाबी गर्छन्—"म त्यो प्रशिक्षक होइन जसले टचलाइनमा बसेर कफी खाएर निर्देशन दिन्छ । म खेलाडीको लागि मैदानमा उत्रिन्छु, उनीहरूसँग रमाउँछु र उनीहरूलाई सफल बनाउन प्रयास गर्छु ।"
"के कसैले मेरो तलबबारे थाहा पायो ?" उनी प्रश्न गर्छन्, "म यहाँ पैसा कमाउन आएको होइन । म स्वतन्त्र रूपमा काम गर्न चाहन्छु, न कि दबाबमा । फुटबल नेतृत्वले त्यो स्वतन्त्रता दिन सक्नुपर्छ ।"
डे वाइल्डको अनुभवले नेपाली महिला फुटबलको गहिरो यथार्थ खोलिदिएको छ । एकातिर प्रतिबद्ध प्रशिक्षक, जसले टिमलाई विश्वस्तरको मनोविज्ञान र रणनीतिमा तयार पार्न खोजे, अर्कातिर प्रशासनिक प्रणाली, जसले अझै पनि फुटबललाई प्राथमिकताभन्दा ‘अन्य प्रयोजन’का लागि उपयोग गरिरहेको आरोप लागेको छ ।
उनको अन्तिम सन्देश स्पष्ट छ—"म फर्कन चाहन्छु, तर परिवर्तनका लागि । नेपाली महिला फुटबलको रूपान्तरणका लागि ।"