T10 T10
प्रशिक्षक वाइल्डको राजीनामा प्रकरण

कप्तान विवाददेखि पेनाल्टीसम्म : किन फर्किएनन् डे वाइल्ड ?

आइतबार, साउन ४, २०८२
Global

काठमाडौं :एक वर्षको करार, तर एउटा विवादले मात्र एक महिना टिक्न सकेनन् बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड। उज्वेकिस्तानको मैदानमा नेपाली महिला फुटबल टोलीले गोल मात्र होइन, नेतृत्वकै अनिश्चयको सामना गर्यो। परिणाम — डे वाइल्डले नेपाल फर्किने सबै ढोका बन्द गरे।

उज्वेकिस्तानको एसियन कप छनोट खेलेर फर्किएको टोली झन्डै दुई हप्ता भयो। तर प्रशिक्षक डे वाइल्ड भने उतैका विवादको घेरामा फसेर नेपाल फर्किएनन्। कप्तानको पटाक्षेपले उनी र व्यवस्थापनबीचको सम्बन्धमा दरार नै ल्यायो।

टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङले सार्वजनिक रूपमा डे वाइल्डमाथि आरोपको वर्षा गरे — “उज्वेकिस्तानको सबै अव्यवस्था डे वाइल्डकै कारण।” त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उनलाई स्पष्टीकरण माग्दै पत्राचार गर्‍यो। फर्केर काम गर्ने कि नगर्ने — एउटा हप्ताभित्र जवाफ दे भनेर। उनले त्यसको आधा समय पनि कुर्न मानेनन्, राजीनामा पठाइदिए।

‘खेलाडीमाथि दबाब, व्यवस्थापन कमजोर’

कान्तिपुरद काठमाडौं पोष्टसँगको अन्तर्वार्तामा डे वाइल्ड बोले — व्यवस्थापन कमजोर छ, खेलाडीमाथि अनावश्यक दबाब छ। उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा केही खेलाडीले डरले पेनाल्टी नै हान्न मानेनन् भन्ने उनको दाबी नै व्यवस्थापनलाई अरु आक्रोशित बनायो। उनले भनेका थिए — “म फर्किए भने पनि खेलाडीका लागि मात्र फर्किन्छु, व्यवस्थापनका लागि होइन।”

लाओस विरुद्धको महत्त्वपूर्ण खेलमा कप्तानी कसले सम्हाल्ने भन्ने कुरा पनि विवादकै जड बन्यो। डे वाइल्डले सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाउन चाहे, तर व्यवस्थापनले अन्तिम समयमा सिनियर खेलाडी रेनुका नगरकोटेलाई कप्तान भनेर नाम एन्फामा पठाइदियो। डे वाइल्डलाई यो कुरा खेल सुरू हुन ९० मिनेटअघि मात्रै थाहा भयो।

अपराजित तर अपूर्ण यात्रा

डे वाइल्डको संक्षिप्त कार्यकालमा नेपाल अपराजित रह्यो — ३ खेलमा २ जित, १ बराबरी। लाओस र श्रीलंकालाई हरायो, उज्वेकिस्तानसँग बराबरी भयो। तर फाइनल चरण पुग्न पेनाल्टी सुटआउटमा जित्नै पर्ने खेलमा नेपाल चुक्यो। त्यसकै पीडा डे वाइल्डको अन्तर्वार्तामा सुनियो — खेलाडीहरू पेनाल्टी हान्न तयार नै भएनन् भनेर उनले व्यवस्थापनको भूमिका नै प्रश्न गरे।

नेपाललाई प्रशिक्षण दिने उनी पहिलो प्रो लाइसेन्स प्राप्त विदेशी प्रशिक्षक हुन् भन्ने तथ्य पनि विवादको छायामा ओझेल पर्‍यो। एक वर्षको सपना, एक महिनामै अन्त्य — कप्तानीको निणर्य, पेनाल्टीको दबाब र व्यवस्थापनको आरोपको त्रिकोणमा डे वाइल्डको अध्याय यहीँ टुंगियो।

भिडियो हर्नुहोस् ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्