Dosa Dosa

नेपालमा मनाइयो अन्तर्राष्ट्रिय भलिबल दिवस 

सोमबार, असार २३, २०८२

काठमाडौं :नेपालमा पनि सोमबार अन्तर्राष्ट्रिय भलिबल दिवस विविध कार्यक्रमको आयोजना गर्दै उत्साहपूर्वक मनाइएको छ।

नेपाल भलिबल संघको आयोजनामा आयोजित कार्यक्रममा खेल क्षेत्रका उच्च पदाधिकारीदेखि खेलाडी, प्रशिक्षक र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम काठमाडौंको नैकापस्थित न्यु डायमन्ड एकेडेमीको प्राङ्गणमा सम्पन्न भयो। उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। त्यस्तै राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल भलिबल संघका पदाधिकारी, नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, राखेप कर्मचारी संघका प्रतिनिधि, प्रशिक्षक तथा कर्मचारीहरू समेत उपस्थित थिए ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा सहभागीहरूबीच मैत्रीपूर्ण भलिबल खेलको समेत आयोजना गरियो। यसले भलिबलप्रतिको जनचासो र सहभागिता अभिवृद्धि गर्न योगदान पुर्याएको आयोजकको भनाइ छ।
नेपाल भलिबल संघका अनुसार अन्तर्राष्ट्रिय भलिबल दिवसको अवसरमा हरेक वर्ष विश्वभर विविध गतिविधिहरू गरिन्छ र नेपालले पनि त्यसमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
संघका एक पदाधिकारीले भने, “भलिबल नेपालमा लोकप्रिय हुँदै गएको खेल हो। यस्ता दिवसहरुले यसलाई अझ विस्तार गर्न सहयोग पुग्ने विश्वास गरेका छौं।”
कार्यक्रममा भलिबलको इतिहास, यसको विकासक्रम, नेपालमा यसको वर्तमान अवस्था र भविष्यका सम्भावनामाथि पनि छलफल भएको थियो। आयोजकले भलिबलको प्रवद्र्धनमा यस्ता दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्