सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काटमाडौँ : न्यु डायमन्ड स्पोर्टस क्लब नवौं पिएम कप एनभिए लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल एपिएफ क्लबलाई आज ३–० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले फाइनल यात्रा तय गरेकोे हो । उक्त नतिजा सँगै नेपाल पुलिस क्लबले पनि फाइनलमा स्थान बनाएकाे छ ।
यो समिकरण सँगै साविक विजेता तथा काभा क्लब च्याम्पियन्सको समेत विजेता रहेको पुलिस र न्यु डायमण्ड यसपटकको काभा क्लब च्याम्पियन्सिपको लागि समेत छनोट भएका छन् ।
लगातारको चौथो जितपछि १२ अंकसहित न्यु डायमण्ड शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको ११ अंक छ । आज यसअघि भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सान्त्वना जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ ।
लिग चरणबाट बाहिरिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले कर्णाली प्रदेशलाई ३–० ले हराएको हो । यो जितसँगै आर्मीले ४ अंकसहित पाँचौं स्थानमा रहँदै लिगको यात्रा टुंगाएको छ । कर्णाली प्रदेशले अंकको खाता नखोली पुछारमा रहेर लिग सकायो ।
भोलि पुलिस र न्यु डायमण्ड तथा एपिएफ र एभरेष्टबीच खेल हुनेछ । बिहीवार पुलिस र डायमण्डबीच फाइनल तथा एपिएफ र एभरेष्टबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालास्थित कभर्ड हलमा नेपाल भलिबल संघको आयोजनामा बिहीवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।