सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ । मुकुलको आक्रामक अर्धशतकको मद्दतले लखनउले अन्तिम बलमा लक्ष्य भेट्टाउँदै खेल आफ्नो पक्षमा पारेको हो।
कोलकाताले दिएको १८२ रनको चुनौतीपूर्ण लक्ष्य लखनउले ७ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो। लखनउको जितका मुकुल नायक बने । उनले मात्र २७ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ५४ रनको अविजित र विस्फोटक इनिङ खेले। त्यस्तै, आयुष बदोनीले ५४ रनको योगदान दिँदा एडेन मर्करमले २४ रन बनाए। कप्तान ऋषभ पन्त र निकोलस पुरनले समान १४–१४ रन जोडे।
कोलकाताका लागि वैभव अरोरा र अनुकुल रोयले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। उसका लागि अंगकृश रघुवंशीले ४५, कप्तान अजिन्क्या रहानेले ४१, रोभमन पावेलले अविजित ३९ र क्यामरुन ग्रीनले अविजित ३२ रनको योगदान दिएका थिए। लखनउका बलरहरू प्रिन्स यादव, मनिमरन सिद्धार्थ, मोहम्मद शामी र आवेश खानले १–१ विकेट चट्काए।
यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको लखनउ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने लगातार चौथो हार व्यहोरेको कोलकाता अझै अंकविहीन अवस्थामा छ।