T10 T10

एरिका गुरुङ अब तमु धीं यूकेको ‘गूडविल एम्बासडर’

सोमबार, चैत ९, २०८२
Global

काठमाडौँ:- नेपाली खेलकुद इतिहासमा एसियाली खेलकुद एशियाड मार्फत ऐतिहासिक रजत पदक दिलाउन सफल चर्चित कराँते खेलाडी एरिका गुरुङलाई बेलायतस्थित तमु धीं यूकेले आफ्नो सद्‌भावना दूत नियुक्त गरेको छ। 
सोमबार आयोजित एक कार्यक्रमबीच संस्थाले २२ वर्षीया एरिकालाई यो सम्मानजनक जिम्मेवारी सुम्पिएको हो। 
नेपाली कराँतेको उचाइलाई विश्वस्तरमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकी एरिका र तमु धीं यूकेबीच भएको यो सहकार्यले नेपाली खेल जगतमा नयाँ उत्साह थपेको छ।
यो सम्झौतासँगै अब एरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेल्दा तमु धीं यूकेको बलियो साथ पाउनेछिन्।
सम्झौता अनुसार एरिकाले अब भाग लिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा तमु धीं यूकेको लोगो अंकित खेल पोशाक जर्सी लगाउनेछिन्।
विश्व कराँते महासंघ  र एसियाली कराँते महासंघद्वारा आयोजना हुने चारवटा आधिकारिक प्रतियोगिताका लागि संस्थाले उनलाई हवाई टिकट उपलब्ध गराउनेछ।
हवाई टिकटको सुविधा यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन वा थाइल्यान्ड ओपनमध्ये कुनै एक ठूलो प्रतियोगिताका लागि पनि लागू हुनेछ।
उल्लेखित प्रतियोगिताहरूमा सहभागिता जनाउँदा हवाई टिकटका अतिरिक्त प्रोत्साहन स्वरूप प्रति प्रतियोगिता ५ सय अमेरिकी डलर नगद समेत उपलब्ध गराइने सहमति भएको छ।

यो सहकार्यले एरिकालाई आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको तयारी र सहभागितामा आर्थिक रूपमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। नेपालकी यी प्रतिभाशाली खेलाडी अहिले थप सफलताका लागि कडा प्रशिक्षणमा व्यस्त छिन्।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्