T10 T10

मध्यपूर्व तनाव: अफगानिस्तान र श्रीलंकाबीचको क्रिकेट शृङ्खला स्थगित

बुधबार, फागुन २७, २०८२
Global

काठमाडौँ :मध्यपूर्वमा बढ्दो तनावका कारण अफगानिस्तान र श्रीलंकाबीचको क्रिकेट शृङ्खला स्थगित भएको छ। अमेरिका, इजरायल र इरानबीच जारी युद्धको अवस्थालाई मध्यनजर गर्दै अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार यो शृङ्खला रोक्ने निर्णयको पुष्टि गरेको हो। यो शृङ्खला संयुक्त अरब इमिरेट्समा आयोजना हुने तय भएको थियो, जहाँ १३ मार्चदेखि २५ मार्चसम्म ३ एकदिवसीय र ३ टी-२० खेलहरू खेल्ने तालिका थियो।

अफगानिस्तान क्रिकेट बोर्डका मुख्य कार्यकारी नसिब खानका अनुसार युद्धको अवस्थाका कारण हवाई यात्रा र व्यवस्थापकीय पक्षमा ठुलो समस्या आएपछि यो निर्णय लिनुपरेको हो। बोर्डले यो शृङ्खलालाई श्रीलंकामै सार्ने प्रयास गरे पनि छोटो समयमा उडान उपलब्ध नहुनु र होटल तथा सुरक्षाको प्रबन्ध मिलाउन नसकिएकाले अन्ततः खेलहरू स्थगित गरिएको छ। अब यो शृङ्खला सन् २०२६ को अन्तिम तीन महिनाभित्र आयोजना गरिने सम्भावना छ।

यो शृङ्खला विशेषगरी अफगानिस्तानका लागि महत्त्वपूर्ण मानिएको थियो। राशिद खानलाई टी-२० टोलीको कप्तानीबाट हटाएपछि इब्राहिम जादरानको नेतृत्वमा अफगानिस्तानले खेल्न लागेको यो पहिलो शृङ्खला हुने थियो। हालै सम्पन्न टी-२० विश्वकप २०२६ मा दुवै टोलीको प्रदर्शन निराशाजनक रहेको थियो। सन् २०२४ मा सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक समूह चरणबाटै बाहिरिएको थियो भने सह-आयोजक श्रीलंका पनि 'सुपर-८' भन्दा अगाडि बढ्न सकेको थिएन।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्