T10 T10

भारतीय महिला क्रिकेट लाउरेस विश्व खेल सम्मानका लागि मनोनयनमा

मंगलबार, फागुन १९, २०८२
Global

दिल्ली :सन् २०२५ को महिला एकदिवसीय विश्वकपमा ऐतिहासिक जित हासिल गरेपछि भारतीय महिला क्रिकेट टोली प्रतिष्ठित लाउरेस विश्व खेल सम्मानका लागि मनोनयनमा परेको छ।

विश्व विजेता बनेको अभूतपूर्व उपलब्धिको कदर गर्दै टोलीलाई ‘वर्षको उत्कृष्ट टोली’ विधामा छनोट गरिएको हो। लाउरेस खेल प्रतिष्ठानले मंगलबार यसको पुष्टि गरेको छ भने भारतीय क्रिकेट नियन्त्रण बोर्डले पनि यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छ।

यो सम्मानका लागि मनोनयन हुने भारतीय महिला टोली पहिलो क्रिकेट टोली बनेको छ। प्रतियोगिताको सेमिफाइनलमा अष्ट्रेलियाले प्रस्तुत गरेको ३३९ रनको विशाल लक्ष्य सफलतापूर्वक पछ्याउँदै भारतले महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफलताको कीर्तिमान बनाएको थियो। हरमनप्रित कौरको कप्तानीमा रहेको टोलीले फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको हो।

यस विधामा भारतीय टोलीसँगै बेलायतको महिला फुटबल टोली, युरोपेली राइडर कप टोली, पेरिस सेन्ट-जर्मेन र म्याकलारेन जस्ता विश्वप्रसिद्ध टोलीहरू पनि मनोनयनमा परेका छन्।

लाउरेसले जारी गरेको विज्ञप्तिमा अष्ट्रेलियाविरुद्धको ऐतिहासिक जित र विश्वकपको सुखद यात्रालाई नै मनोनयनको मुख्य आधार मानिएको छ। यो उपलब्धि भारतीय क्रिकेटका लागि मात्र नभई समग्र महिला खेलकुदका लागि एक गौरवपूर्ण क्षण सावित भएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्