टी- २० विश्वकपमा भारत-पाकिस्तान भिडन्त रद्द

बंगलादेशको मुद्दामा पाकिस्तानको क्रिकेट कुटनीति, भारतलाई सित्तैमा २ अंक
आइतबार, माघ १८, २०८२


काठमाडौँः- विश्व क्रिकेटकै सबैभन्दा ठूलो र बहुप्रतिक्षित भिडन्त मानिने भारत र पाकिस्तानबीचको खेल यस पटकको टी- २० विश्वकपमा नहुने भएको छ। पाकिस्तान सरकारले आगामी फेब्रुअरी १५ का लागि तय भएको भारतविरुद्धको खेल बहिष्कार गर्ने सनसनीपूर्ण निर्णय लिएपछि क्रिकेट जगत स्तब्ध बनेको छ।

यो विवादको केन्द्रमा बंगलादेश रहेको छ। सुरक्षा चिन्ता देखाउँदै भारतमा खेल्न इन्कार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसीले बंगलादेशलाई प्रतियोगिताबाटै हटाएर स्कटल्याण्डलाई समावेश गरेको थियो। आईसीसीको सोही कदमको विरोध गर्दै बंगलादेशको ऐक्यवद्धताका लागि पाकिस्तानले भारतसँगको खेल त्याग्ने घोषणा गरेको हो।
पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) का अध्यक्ष मोहसिन नकवी र प्रधानमन्त्री शाहबाज शरीफबीच इस्लामावादमा भएको उच्चस्तरीय बैठकले यो बहिष्कारको रणनीति तय गरेको हो।

पाकिस्तानले विश्वकपका अन्य खेलहरू खेल्ने भए पनि भारतसँग मैदानमा नउत्रिने स्पष्ट पारेको छ। यसको सीधा फाइदा भारतीय टोलीलाई हुनेछ। पाकिस्तान नखेल्ने भएपछि भारतले २ अंक र वाकओभर जित प्राप्त गर्नेछ।
यो २ अंकले भारतलाई अर्को चरणमा पुग्न निकै सहज बनाउनेछ।
आईसीसीको नियम अनुसार खेल बहिष्कार गर्दा पाकिस्तानको रनरेट निकै तल झर्नेछ, जसले गर्दा उसलाई बाँकी खेल जितेर पनि अघिल्लो चरण पुग्न गणितीय चुनौती हुनेछ।

भारत पाकिस्तान खेल नहुनु केवल खेलको हारजित मात्र होइन, यो एक ठूलो व्यापारिक धक्का पनि हो। तथ्याङ्क अनुसार विश्वकपको कुल राजस्वको ८ देखि १० प्रतिशत हिस्सा यही एउटै खेलबाट संकलन हुन्छ।
विज्ञापनका सबै स्लटहरू बेचिसकेका ब्रोडकास्टरहरूले अब आईसीसीसँग ठूलो क्षतिपूर्तिको माग गर्न सक्नेछन्।
टेलिभिजन र डिजिटल भ्युअरशिपमा आउने भारी गिरावटले क्रिकेटको बजारलाई नै खलबल्याइदिएको छ।

इतिहास पल्टाउँदा विश्वकपमा पाकिस्तानमाथि भारत सधैं हावी देखिएको छ। हालसम्म भएका ८ टी-२० विश्वकप भिडन्तमा भारतले ७ पटक जितेको छ भने पाकिस्तानले मात्र १ पटक  (२०२१ मा) जित निकाल्न सकेको छ। सन् २०२४ को अन्तिम रोमाञ्चक भेटमा पनि भारतले ५ रनले बाजी मारेको थियो।

राजनीति र खेलकुद मिसाएको भन्दै आईसीसीले पाकिस्तानमाथि कडा प्रतिबन्ध लगाउन सक्ने सम्भावना पनि छ। बंगलादेशबाट सुरु भएको यो विवादले दक्षिण एसियाली क्रिकेटमा नयाँ राजनीतिक ध्रुवीकरण पैदा गरेको छ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्