पाकिस्तानको 'बहिष्कार' रणनीति उदाङ्ग

बाहिर धम्की, भित्रभित्रै विश्वकपको भव्य तयारी
आइतबार, माघ १८, २०८२

काठमाडौं :टी-२० विश्वकपलाई लिएर पाकिस्तानले अपनाएको बहिष्कारको रणनीति केवल एउटा मनोवैज्ञानिक दबाब  मात्र भएको खुलासा भएको छ। सार्वजनिक रूपमा सुरक्षा र राजनीतिक कारण देखाउँदै विश्वकपमा सहभागी नहुने संकेत दिएको पाकिस्तानले भित्रभित्रै श्रीलंका जाने सम्पूर्ण तयारी पूरा गरिसकेको तथ्य बाहिर आएको हो।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगितामा भारतसँगको तिक्तताका कारण पाकिस्तानले बहिष्कार गर्ने चेतावनी दिँदै आएको थियो। तर, वास्तविकतामा पाकिस्तानी क्रिकेट बोर्डले आफ्ना खेलाडीहरूको टिकट र बसाइको प्रबन्ध गुपचुप रूपमा मिलाइसकेको छ।

पाकिस्तानी टोलीका टी-२० कप्तान सलमान आगाले अष्ट्रेलिया विरुद्धको खेलका क्रममा अन्जानमै यो गोप्य योजना सार्वजनिक गरिदिएका हुन्। टसको समयमा बोल्दै उनले भनेका थिए,हामी श्रीलंकाको जस्तै पिचमा अभ्यास गर्दैछौँ ताकि विश्वकपमा सहज होस्।
कप्तानको यो भनाइले पाकिस्तानले बहिष्कारको कुरालाई केवल चर्चा र दबाबका लागि मात्र प्रयोग गरेको पुष्टि गरेको छ।
भारतीय समाचार एजेन्सी पीटीआई का अनुसार पाकिस्तानी टोली २ फेब्रुअरी अर्थात् भोलि नै कोलम्बोका लागि उड्नेछ।
७ फेब्रुअरीमा पाकिस्तानले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।
सुरुवातमा बंगलादेशको भेन्यू परिवर्तनको मागलाई समर्थन गरे पनि अन्त्यमा पाकिस्तानले आफ्नै सहभागिता सुनिश्चित गरेको छ।
क्रिकेट विज्ञहरूका अनुसार पाकिस्तानले अन्तिम समयसम्म बहिष्कारको कार्ड खेल्नुको मुख्य उद्देश्य आईसीसी र आयोजक राष्ट्रहरूमाथि आफ्नो राजनीतिक र सुरक्षा चासोलाई लिएर दबाब बनाउनु थियो। तर, भित्रभित्रै टोलीलाई मानसिक र प्राविधिक रूपमा श्रीलंकाको मैदानका लागि तयार पारिनुले उसको दोहोरो चरित्र प्रस्ट पारेको छ।
विश्वलाई भ्रममा राखेर रणनीति बुनिरहेको पाकिस्तान अहिले आफ्नै कप्तानको बयानका कारण रक्षात्मक स्थितिमा पुगेको छ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्